मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

कोरोनाका कारण रोकिएको जर्मन बुण्डेस लिगा फुटबल पुनः शुरू

दैनिक नेपाल २०७७ जेठ ४ गते १०:२२

लण्डन, ४ जेठ । कोरोना भाइरसको महामारीका कारण रोकिएको जर्मन बुण्डेस लिगा फुटबल पुनः सुरु भएको छ । झण्डै १० हप्ताको कोरोना ब्रेकपछि बुण्डेस लिगाका खेलहरु शनिबार रातिदेखि सुरु भएका हुन् ।

कोरोना भाइरसको महामारी कमजोर हुँदै गएपछि पुनः सुरु हुने प्रमुख लिग बनेको छ जर्मन बुण्डेस लिगा । बन्द रंगशालामा भएको खेलमा बोरुसिया डर्टमुण्डले एफसी शाल्केलाई ४–० ले पराजित गरेको छ ।

बोरुसियाको जितमा राफायल गेहेइरोले दुई तथा आर्लिङ ब्राउट होल्याण्ड र थोर्गन हजार्डले एक–एक गोल गरे ।

२९ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै होल्याण्डले कोरोना भाइरसको महामारीकाबिच भएको खेलमा बोरुसियालाई सुरुवाति अग्रता दिलाए । गेहेइरोले ४५ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा बोरुसियाले २–० को अग्रता लियो । दोस्रो हाफको सुरुमै अर्थात ४८ औँ मिनेटमा हजार्डले गोल गरे ।

गेहेइरोले ६३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बोरुसिया डर्टमुण्डले ४–० को जित निश्चित गरेको हो । खेल बोरुसियाको मैदानमा भएको हो । रंगशालामा खेलाडी र खेलपदाधिकारी बाहेक कोहि पनि थिएनन् । उपस्थित सबैलाई दुई मिटरको दूरीमा राखिएको थियो ।

जितपछि दोस्रो स्थानको बोरुसियाको २६ खेलबाट ५४ अंक भएको छ । एक खेल कम खेलेको बार्यन म्युनिक ५५ अंकसहित शीर्ष स्थानमा छ । उसले आइतबार राति खेल्ने छ ।

शनिबार राति नै भएको खेलमा बोरुसिया मोन्च्याङ्ग ग्लाडवाचले फ्र्यांकफर्टलाई ३–१, हेर्था बर्लिनले होफेनहेमलाई ३–० तथा वुल्फबर्गले अगस्बर्गलाई २–१ ले पराजित गरेको छ । यस्तै राबी लेइप्जिग र फ्रेइबर्गले १–१ तथा डुसेलडोर्फ र पाडेर्बनले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित