शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रौतहटमा फेला परेका कोरोना भाइरस संक्रमितहरू ५ दिनअघि चोर बाटो हुँदै भारतबाट आएकाे खुलासा

दैनिक नेपाल २०७७ जेठ ४ गते १०:१०

रुपेन्द्र पटेल

गरुडा, ४ जेठ । रौतहटमा एकै दिन १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा अब कोरोना भाइरस संक्रमितको संख्या २९१ पुगेको छ भने रौतहटमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रौतहटका थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताउनुभएको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा थप १० मा कोरोना भेटिएको हो । कोरोना संक्रमितहरुमा रौतहट राजपुर नगरपालिका–९ का १८, ३२, ३६, ३९,३९, ४२, ४८ पुरुषहरु र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेका छन् ।

राजपुर नगरपालिकाका संक्रमितहरु वडा नं ९ बैरिया स्थित क्वारेन्टाईनमा बसिरहेका छन भने इशनाथ नगरपालिकाका संक्रमितहरु वडा नं ३ औरैया स्थित क्वारेन्टाईनमा बसिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

दुवै नगरपालिकाका दशैजना संक्रमितहरु लकडाउनकै बीचमा चोर बाटो हुँदै ५ दिन अघि मात्रै भारतबाट फर्किएका थिए । उनिहरु भारतबाट फर्केपनि परिवारको सम्पर्कमा नपुग्दै पक्राउ परेर क्वारेन्टाईन पुगेका थिए ।

राजपुर नगरपालिकाका मेयर शेख वकिलका अनुसार संक्रमित सातैजना भारतको मुम्बई शहरमा मजदुरको काम गर्ने उनीहरू ५ दिन अघि मात्रै चोरबाटो हुँदै नेपाल फर्केका थिए ।

नेपाल फर्केका उनिहरुलाई बोर्डरमै पक्राउ गरि वडा नं ७ स्थित बैरिया क्वारेन्टाईनमा पठाईएको थियो । क्वारेन्टाईनमा बसिरहेका उनिहरुको तिन दिन अघि मात्रै स्वाब संकलन गरि परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएकोमा सातै जनाको रिपोर्ट पोजेटिभ आएको मेयर शेख वकिलले बताए ।

त्यस्तै इशनाथ नगरपालिकाका संक्रमित हरु पनि भारतबाट नै चोर बाटो भएर नेपाल आएको खुलेको छ । इशनाथ नगरपालिकाका मेयर संतोश मेहताका अनुसार तीनै जना दिल्लीको एक ब्याग कम्पनीमा काम गर्दै थिए ।

तर, कोरोना भाइरसका कारण भारतमा लकडाउन भएसँगै कम्पनी बन्द भएपछि काम पनि बन्द भएकोले उनिहरु नेपाल फर्कने सोच बनाएर त्याहाबाट पैदल नै हिडेका थिए ।

नेपालमा पनि लकडाउनका कारण नेपाल भारतका सम्पुर्ण सिमा नाकाहरू बन्द रहेको अवस्थामा उनिहरु केहि दिन अघि मात्रै चोर बाटो भएर नेपाल छिरेका थिए ।

दिल्लीबाट अबैध बाटो भएर केहि मानिस नेपाल छिरेको जानकारी प्राप्त भएपछि मेयर मेहताको अगुवाईमा तुरुन्त उनिहरुलाई पक्राउ गरि औरैया क्वारेन्टाईनमा पठाइएको थियो ।

क्वारेन्टाईनमा बसिरहेका सबैजनाको तिन अघि मात्रै स्वाब संकलन गरि परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएकोमा तिन जनाको रिपोर्ट पोजेटिभ आएको मेयर मेहताले बताए ।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कोरोना संक्रमण पुष्टि भएका दशैजनाको अवस्था अहिले सामान्य रहेको र उनीहरूलाई उपचारको लागि बाहिर पठाउने विषयमा छलफल भइरहेको बताए ।

यस जिल्लामा यसभन्दा अघि पनि ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइरसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित