काठमाडौं, २ जेठ । दुबईमा कोरोनाभाइरसबाट संक्रमित नेपाली युवाले आफूलाई बचाउन अपील गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको बहसमा शुक्रबार पत्रकार ऋषि धमलासँग कुरा गर्दै ती युवाले आफूलाई कोरोना लागेको भएपनि उपचार नगराइएको उल्लेख गरे । उनले आफू मर्न लागेकोभन्दै विलौना गरेका छन् ।
दुबईमा रहेका ती युवकको नेपालमा घर सिरहा जिल्लाको मिर्चैयामा पर्छ । उनी घर आउन भनेर तयारी गरेका बेला कोरोना भाइरसको संक्रमण भएको थियो ।
कोरोना भाइरसको संक्रमण भएपछि ती युवकलाई कोठाभित्र राखिएको छ । उनले उपचारका लागि आफू कार्यरत कम्पनी र नेपाली राजदूतावासलाई आग्रह गरेका छन् ।
तर, उनको उद्धार हुन सकेको छैन । तीन दिनदेखि कोठाभित्रै रहेको ती युवकले भनेका छन् ।
‘कोरोना लागेको छ, अस्पताल लगिएको छैन’, उनले भने, ‘उपचार भएको छैन, मलाई नेपाल लगे म बाँच्ने थिए, यहाँ मलाई कसैले केही गरेको छैन् ।’
उनले आफूलाई कोरोनाका कारण स्वास फेर्न गाह्रो भइरहेको बताए । उनले भने, ‘ज्वरो आएको, छाती दुखेको छ, घाँटी सुख्खा भएको छ ।’ ती युवकले आफ्नो अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।
‘घर जान खोजेको एक महिना १५ दिन भयो, कोरोना लागेको रहेछ, कसरी लाग्यो थाहा भएन’, उनले भने, ‘यहाँ मलाई धेरै पीडा भइरहेको छ ।’
ती युवाले आफ्ना परिवारजनलाई चिन्ता हुने भएकाले आफूलाई केही नभएको भनेर ढाँट्ने गरेको बताएका छन् ।
प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आग्रह गर्दै उनले भने, ‘मलाई की नेपाल लैजानु की यही अस्पतालमा उचारको व्यवस्था गरिदिनुस्, नत्र म मर्छु ।’
उनले दुबईमा रहेको नेपाली दूतवासमा पटक–पटक फोन गरेपनि कुनै सहयोग नगरेको र एक दुई दिनमा डाक्टर आउँछ भन्ने आश्वासन मात्रै दिने गरेको बताए । उनको उपचारका लागि अहिलेसम्म डाक्टर आएका छैनन् ।
उनले आफू दुबई आएको २७ महिना भएको र अहिले साथमा एक दुई हजार रुपिया मात्रै रहेको जानकारी दिएका छन् ।











प्रतिक्रिया