वीरगन्ज, १ जेठ । वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डबाट बुधबार भागेका दुई संक्रमितमध्ये १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अस्पतालको सर्जिकल वार्डमा बनाइएको आइसोलेसनबाट बुधबार दिउँसो साढे ३ बजे दुई संक्रमित भागेका थिए ।
तीमध्ये पर्साको विन्दवासीनी गाउँपालिकाको बहुअर्वाभाठा घर भएका संक्रमित २८ वर्षीय राजनाथ यादवलाई नियन्त्रणमा लिएर प्रहरीले फेरि आइसोलेसन वार्डमा राखेको छ ।
अस्पतालबाट भागेर खेतको बाटो हुँदै पैदल बहुअर्वाभाठा जाँदै गरेका यादवलाई प्रहरीले तिलावे खोलाको पुल नजिकको खेतबाट नियन्त्रणमा लिएको हो । यादव लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवा पनि हुन् ।
लागूऔषध मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा राखिएका यादवलाई मङगलवार कोरोना पुष्टि भएपछि अस्पताल लगिएको थियो ।
यादवसँगै अस्पतालबाट फरार भएका अर्का संक्रमित वीरगन्ज १६ इनर्वाका ४४ वर्षीय जाबेद मियाको भने खोजी कार्य भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
अस्पतालबाट भागेर घर पुगेका मियाँका बारेमा परिवारकै सदस्यले प्रहरीलाई फोन गरेर खबर गरेका थिए । प्रहरी मियाँको घरमा पुग्नुभन्दा पहिले नै उनी मोबाइल फालेर भागेकाले पक्राउ गर्न सकिएको छैन ।











प्रतिक्रिया