हरिपूर्वा, ३१ वैशाख । सर्लाही जिल्लामा अर्का एकजनालाई कोरोना भाइरसकाे संक्रमण देखिएकाे छ ।
योसँगै सर्लाहीमा कोरोना भाइरस संक्रमित दुईजना पुगेका छन् । मंगलबार जिल्लाको दक्षिण–पूर्वी क्षेत्र स्थित हरिपूर्वा नगरपालिका–३, धनकौल गाउँका ४५ वर्षीय एकजना पुरुषको पीसीआर पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
‘पहिला जनकपुरमा गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि उनलाई छाडिएको थियो’, प्रजिअ जिसीले भने, ‘टेकुमा पठाइएको स्वाब परीक्षण भने पोजेटिभ आएछ ।’
प्रजिअ जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ लगायत सुरक्षा अधिकारी एवं स्वास्थ्यकर्मीहरूको टोली धनकौल गाउँ पुगेर उनलाई जनकपुर पठाएका छन् ।
मानसिक बिरामी एक जनामा काेराेनाकाे संक्रमण देखिएकाे जिसीले बताए । ‘मानसिक रोगको बिरामी भएकाले निकै समस्या परेकाे छ’, प्रजिअ जिसीले बुधबार भने, ‘बल्ल बल्ल उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएर अहिले बिहान ३ बजे गाउँबाट फर्किएका हौं ।’
मानसिक रोगका बिरामी उनी विभिन्न ठाउँमा डुल्दै हिड्ने गरेकाले कोरोना भाईरस संक्रमणको जोखिम बढेको स्थानीयले बताएका छन् ।
पहिला पनि उनी आईसोलेसनबाट भागेको बताइएको छ । भारत लगायत विदेश कतै नगएका उनी जनकपुर लगायत विभिन्न स्थानमा नमाज पढ्ने क्रममा संक्रमित भएको हुन सक्ने सुरक्षा श्रोतले अनुमान गरेको छ ।
यसअघि जिल्लाको दक्षिण–पश्चिम क्षेत्र स्थित धनकौल गाउँपालिका–५, हरकठवागोठका १४ वर्षीय किशोरमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो ।












प्रतिक्रिया