बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

विद्या कसम– सय मदन भण्डारीहरू मर्नुपर्छ यहाँ !

विनोद ढकाल २०७७ वैशाख ३० गते १०:३५

विनोद ढकाल

मलाई थाहा छैन, भारतले कहाँ नेपाली भूमी मिचेर सडक बनायो । तर समाचार, दस्ताबेज पढ्दा र जीवित इतिहासका कुरा सुन्दा भारतले नेपाली प्रशासनलाई पेलेरै सडक निर्माण गरेको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर कुटनीतिक नोट थमाएको, भारतले कोरोनापछि वार्ता गरौंला भनेको, मन्त्रालयको विज्ञप्ति आएको, संसदीय समितिमा भिम रावललगायतका नेता तातेको, प्रतिनिधि सभामा सांसदहरूले आवाज उठाएको यी यावत परिदृश्य र घटनाक्रमले भन्छ– नेपाली भूमीमा सडक बनाइएको छ, सरकार बेखबर थिएन तैपनि केही गर्न सकेन । बल्ल तल्ल सशस्त्रको ३५ जनाको टुकडी सडक निर्माण गरिएको स्थानभन्दा निक्कै पर राखियो भन्ने समाचार पनि आएका छन् ।

भारतले सीमा मिचिरहेको छ । सशस्त्रको सीमा सुरक्षा कार्यालयले सीमाका जङ्गे पिल्लर गायब भएका कयन प्रतिवेदन बर्षौंदेखि सरकारी निकायमा बुझाएका तथ्यांक छन् । कतिपय समाचार त म आफैंले पनि लेखेको थिएँ । गायब भएका पिल्लर देखिएनन्, सरकारले नयाँ राख्न सकेन ।

समाचारमा सुनेको थिएँ, नवलपरासीको एउटा तत्कालिन गाविसका ९ वडा मध्ये ७ वटा त भारतमा पुगिसकेका रहेछन् । २ वटा वडा मात्र रहेछन् । थक–थक हुनु अस्वभाविक होइन । पश्चिमतिर सीमाका विषयमा नै विवाद हुँदा गोविन्द गौतमको हत्या गरियो, त्यसको छानबिनको कुरा पनि त्यसबेला हल्ला भयो, केही दिन आन्दोलन भए, कुरा सेलायो ।

सीमा मिचिँदा आमाको छाती मिचेको जस्तो लाग्छ– राष्ट्रवादी जनतालाई । अस्मितामाथि आक्रमण गरेको अनूभुती हुन्छ । स्वाभिमानको धज्जी उडाएको अनुभव हुन्छ । कहिलेकाहीँ बन्दुक बोकेर मैदानमा उत्रिऔं, उत्रिऔं लाग्छ । तर यसले समस्याको समाधान हुँदैन ।

यो समस्याको समाधानका निम्ति कुटनीतिक तबरले, अन्तर्राष्ट्रिय समुदायसँगको मध्यस्तता वा दुई पक्षीय समझदारीको खाँचो हुन सक्छ । जुन प्रजातन्त्र यता कहिले पनि ठोस पहल भएको न हामीलाई कसैले पढाए, न हामी आउने पुस्तालाई पढाउन योग्य भयौं ।

यी समस्याहरू कुनै बेला, कुनै हिसाबले हल होलान् नहोलान् । तर, यसका साइड इफेक्ट, प्रतिक्रिया र नेपाली सडकमा देखिएका राजनीतिक प्रवित्तिका विषयमा चर्चा गरौं ।

राजनीतिक भेदीकरणको अवस्थामा छौं हामी । हाम्रा विचार महान् हुन सक्लान् तर व्यवाहार भने विभाजित मानसिकतामा आधारित नै छन् । जब राष्ट्रियता र सीमाका विषय उठान हुन्छन् मूलधारका पार्टीका आलाकाँचा सडकमा उत्रिन्छन् ठालूहरु तमासा हेर्छन् । मधेसको माग गरी राज्यका सम्पत्तीमा आक्रमण गर्ने मौन रहन्छ । यस्तो अवस्था यसै आएको होइन, यो बनाइएको हो । यहाँ मौनको सानो मुल्य चुकाएर राष्ट्रिय पहिचानको ठूलो हिस्सा अतिक्रमणको जो स्वार्थ छ ।

यसकारण हाम्रो सार्वभौमिक मुलुक भन्दा पनि कुन दलले के गर्यो ? भन्ने बहस छेडिन्छ । पहिला कसले बेच्यो ? अहिले कसले जोगायो ? भन्ने अर्थहिन बहस हुन्छ । मूर्खताको पराकाष्टमा रहेका सतही जानकारहरूलाई सुझाव छ– राष्ट्रियता र सार्वभौमिकताको सवाल दलीय भेदीकरण भन्दा निक्कै ठूलो हो, देश रहे राजनीति रहन्छ, बहस रहला अनि छलफल होला । यो बेला, एउटा स्वर र एक आवाज हुने बेला हैन र ?

हामी दलीय, गुटीय राजनीतिको दासत्वकरणका एक निस्सेदार बन्यौं । यो दलीय, गुटीय अफिमको नशा यत्तिसम्म भरिदिएछन् हाम्रो पुस्तालाई कि उनीहरूले समर्थन गरेको नेताले केजाती गर्दा नि बासना आउँछ, अरुले गरे गन्हाउँछ । कम्तिमा सार्वभौमिकता र राष्ट्रवादको सवाल, यसको प्रश्न, यसको महासंग्रामको बेला अहिलेको शिक्षित पुस्ता दलीय दासत्वकरणको अफिमको नशाबाट मुक्त हुनुपर्ने थियो– देखिएन । बिडम्बना भन्नुपर्छ– यो देशमा अब मदन भण्डारीहरूको जन्म हुँदैन । स्वाभिमानका सवालहरू नेताको कुर्तामा बन्धकी हुनेछन्, पुस्तौं पुस्तासम्म ।

यहाँ खुशी हुने ठाउँ छैन । दलीय दासत्वकरणले राष्ट्रियता र सार्वभौमिकता पनि अहिलेको पुस्ताले नेताको पाउमा देख्छ, नेताले प्रभुको पाउमा । त्यसैले त काठमाडौंका सडक एकातिर जलिरहँदा, अर्कातिर आफ्ना नेताको श्रीपेचीय धुनमा भोलीको नेता हुँ भन्नेहरू घाँटीको नशा चुँडिनेगरी चिच्याउँछन्– हाम्रा प्रधानमन्त्री महान्, राष्ट्रवादी । हाम्रा नेता महान् । आफूले आफूलाई कहिले धिक्कार्ने ? प्रधानमन्त्री र कुर्सी त्यहि हो, प्रवित्ति र हेपाहा चरित्र उही हो, छिमेकीको ।

त्यो सडक मानसरोबर जाने तिर्थयात्रीका लागि होइन, हजारौं हजार सिपाही ओसार्ने गाडी कुदाउनका लागि उपयोग हुनेछन् । आज लिपुलेक हराउँदा चुप लागियो भने भोली त्यस वरपरका अन्य भूभाग पनि गायब हुनेमा कुनै द्विविधा हुँदैन । त्यसैले कुनै दल विशेषको होइन, मुलुकको नागरिक भएर यसबेला बोलौं । त्यसक्रममा सयौं शहीद हुन सकिएला, त्यसको पर्वाह गरियो भने सार्वभौमिकता बाँच्दैन, आउने पुस्ताले श्राप दिनेछ

राजाका पालामा २००८ सालमा भारतीय सेना महाकालीमा आएर बसेका कारण हाम्रो भुमी गयो भन्ने चिन्तन र बहसमा अलमल छ । परराष्ट्र विज्ञ रमेशनाथ पाण्डे भन्दैथिए– २०२६ सालमा राजा महेन्द्रले त्यो अनुमति खारेज गरिदिए र सेना हटाउन भनियो । त्यसपछिको शासन सत्ता र हिसाबकिताबको बहस पनि सुरु गर्ने हो र ? यो आपसी विवादको बहस गर्ने बेलाभन्दा पनि आफूभित्रको राष्ट्रवादी चरित्रलाई सामूहिकतामा देखाउने बेला होइन र ?

म नेपालमा जन्मिएका कारणले नेपाली होइन, नेपाल मभित्र जन्मिएका कारण नेपाली हुँ भन्ने भावना जबसम्म मानिसमा जागृत हुँदैन राष्ट्रियताको अर्थ उसले बुझ्न सक्तैन । तर अहिले छिचिमिरा जस्तो कराउने, हल्ला गर्ने र राजनीतिक विरोध, प्रतिरोधमा उत्रिने पुस्तामा नेपाली भन्ने भावना होइन, कांग्रेस, नेकपा वा अर्को भन्ने मात्र भावना रहेका कारणले मुलुकको राष्ट्रिय अस्तित्व र हमलाका लागि अर्कालाई सजिलो भएको छ ।

मधेसवादी, पहाडवादी या हिमालवादी भन्ने त्यो भावनाको जरो गाडेर हाम्रो भुमीमा परेड मात्र खेलेका छैनन्, त्यो परेड खेल्नका निम्ति हजारौं सिपाही भित्राउने सडक बनिसक्यो । त्यो सडक मानसरोबर जाने तिर्थयात्रीका लागि होइन, हजारौं हजार सिपाही ओसार्ने गाडी कुदाउनका लागि उपयोग हुनेछन् । आज लिपुलेक हराउँदा चुप लागियो भने भोली त्यस वरपरका अन्य भूभाग पनि गायब हुनेमा कुनै द्विविधा हुँदैन । त्यसैले कुनै दल विशेषको होइन, मुलुकको नागरिक भएर यसबेला बोलौं । त्यसक्रममा सयौं शहीद हुन सकिएला, त्यसको पर्वाह गरियो भने सार्वभौमिकता बाँच्दैन, आउने पुस्ताले श्राप दिनेछ । उदाहरणका लागि सिक्किमको बिलयकरण काफी छ ।

राष्ट्रियता पहिलो र राजनीति दोस्रो महत्वमा राखेकै कारण मदन भण्डारीको दुर्घटना भयो । भण्डारीलाई यसै नेपालमा कार्ल माक्र्सको उपाधी दिइएको होइन । उनले राष्ट्रियताका सवालमा भनेका थिए,‘एउटा राजा रहँदैमा केही फरक पर्दैन तर विस्तारवादी, साम्राज्यवादी सोचको समुल जबसम्म मुलुकमा रहन्छ, हामी स्वतन्त्र हुन सक्ने छैनौं ।’

विश्वासले बनाएका शहीद भन्दा शहीदले बनाएका विश्वासका जगमा राष्ट्रियताको बलियो पहिचान हुन्छ । यतिबेला बलभद्र कुँवरहरूको खोजी लिपुलेकले गरेको हुनुपर्छ । आधुनिक राजनीतिमा भण्डारीहरूको खोजी काठमाडौंले गरेको छ । जान्ने बुझ्ने हुँदादेखि नै भारतीय प्रताडनाका अनेक प्रकरण र संस्करण सुनेको पढेको मैले कुनै कुरा विश्वास दिलाउनका लागि केटाकेटीमा भन्ने गरेको शव्दलाई पुनः उपयोग गर्दै भन्छु, विद्या कसम– सय मदन भण्डारीहरू मर्नुपर्छ फेरि जन्मनुपर्छ, अनि मात्रै हामी राष्ट्रियताको खोजीमा चुक्ने छैनौं, हामीलाई पेल्ने छिमेकी झुक्नेछ ।

अन्यथा सडकमा, सदनमा, टेलिभिजनका पर्दामा, युट्युवका अन्तरवार्तामा, सामाजिक सञ्जालका भित्तामा, परिवारका बैठक कोठामा नेपालको नक्सा फिजाउँदै हाम्रो बहस ‘चुच्चो खोई ?’ भन्दै चलिरहन्छ । त्यो ‘चुच्चो’मा अनेक विदेशी सेनाले परेड खेलीरहेका हुनेछन् । वारिबाट हाम्रा सिपाहीले गहभरी आँसु पार्दै त्यो परेड नियालीरहनेछन् । यो नियतीबाट उम्किने हो भने दलीय दासत्वकरणबाट माथि उठ्ने प्रयत्मा लागोस्, हाम्रो पुस्ता ।

प्रतिक्रिया
सम्बन्धित