बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

मंगलबारदेखि भारतमा यात्रुवाहक रेलसेवा सुरु

दैनिक नेपाल २०७७ वैशाख ३० गते ६:२४

नयाँदिल्ली, ३० वैशाख । भारत सरकारले करिब दुई महिनादेखि बन्द रहेको यात्रुवाहक रेल सेवा मंगलबारदेखि सञ्चालन गरेको छ ।

केन्द्र सरकारको उक्त निर्णयप्रति राज्य सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । रेल सेवा सञ्चालन सुरु गरे कोरोना भाइरसको महामारी फैलिने भन्दै राज्य सरकारहरुले असन्तुष्टि जनाएका हुन् ।

भारतमा सार्वजनिक यातायातका लागि सबैभन्दा भरपर्दो माध्यमका रुपमा रहेको रेल सेवा गत २४ मार्चदेखि बन्द गरिएको थियो ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि देशव्यापी लकडाउन गरिएको पछि रेललगायत सार्वजनिक यातायात पनि पूर्ण रुपमा बन्द हुन पुगेको हो ।

लकडाउन खुकुलो बन्ने क्रमसँगै रेल सेवा सञ्चालन गर्न लागिएको हो । यात्रुवाहक रेल सेवाका लागि सोमबार अपरान्ह चार बजेदेखि बुकिङ खुला गरिएको छ । तत्कालका लागि भने विभिन्न पन्ध्र गन्तव्यका लागि मात्र रेल सेवा सञ्चालन हुनेछन् ।

मंगलबार दिल्लीबाट राँची, भुवनेश्वर, सिकन्दारावाद, बेग्लुरु, चेन्नई, तिरुबन्तपुरम, मगगाउँ, मुम्बई सेन्ट्रल, अहमदाबाद, दिब्रुगढ, अगरताला, हावडा, पटना, बिलासपुर र जम्मूसम्म रेल सञ्चालन भएको छ ।

भारतको रेल्वे विश्वकै ठूलो सार्वजनिक यातायात सेवामध्येमा पर्छ । जसअन्तर्गत दैनिक ११ हजार रेल सञ्चालन हुने गर्छन् । यीमध्ये सात हजारभन्दा बढी यात्रुवाहक रेल छन् । जसबाट दैनिक १ करोड ३० लाखभन्दा बढीले यात्रा गर्ने गर्छन् ।

केन्द्र सरकारको रेल सेवा सुचारु गर्ने निर्णयको राज्य सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । तेस्रो चरणको लकडाउन सकिनु केही दिन बाँकी रहेको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसँग चलेको करिब छ घन्टा लामो भिडियो कन्फरेन्समा विभिन्न राज्यका मुख्यमन्त्रीहरुत्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।

दिल्ली, मुम्बई, बैंग्लोर, चेन्नई, हैदराबादलगायतका सहरमा कोरोना भाइरसको संक्रमण उच्चदरमा बढिरहेको हुँदा रेल सेवा सुचारु गर्दा जोखिम थप बढ्ने भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित