
काठमाडौं, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतसँग विवाद बारम्बार बल्झिरहेका कारण सीमा क्षेत्रमा काँडेतार वा पर्खाल लगाउनका लागि दिएको सुझावलाई ‘अर्थपूर्ण’ रुपमा व्याख्या गरिएको छ ।
भारतले नेपाली सीमा मिचेको विषयमा धेरै पटक राजधानी काठमाडौंलगायतका ठाउँमा प्रदर्शन गर्ने सर्वसाधारणको विचार भावनासँग जोडिएको हुन्छ । यस्तै दार्चुलाको लिपुलेक क्षेत्रमा हालै मात्र नेपालसँगको विवाद रहेको स्थानमा भारतीय पक्षले सडक नै निर्माण गरी उद्घाटन गरेपछि यो बहसले मुलुक तातेको छ । यसबीचमा संसदको अन्तर्राष्ट्रिय समितिमा नेपालले दिएको यो सुझावलाई राजनीतिक र कुटनीतिक रुपमा दुई कोणमा अथ्र्याउन सकिने विज्ञहरू बताउँछन् ।
हाल सत्तारुढ नेकपाको विदेश विभाग प्रमुख समेत रहेका कारण नेपालले मित्र राष्ट्रसँग कस्तो सम्बन्ध राख्ने भन्ने राजनीतिक रुपमा पार्टीको तहबाट र नेताका रुपमा सरकार सञ्चालन गरिरहेको पार्टीलाई आधिकारीक सुझाव दिने हैसियत राख्छन् । अर्को भने, पूर्वप्रधानमन्त्री समेत रहीसकेका व्यक्तिले आधिकारिक निकायमा यत्तिको सुझाव दिनुचाहिँ भारतको हेपाहा प्रवित्ति बढेको भन्ने प्रष्ट भनाईका रुपमा अर्थ लगाउन सकिने विज्ञहरू बताउँछन् ।
‘सँधै यो झमेला र विवाद गर्नु भन्दा सदाका लागि अन्त्य गर्नका निम्ति भातरसँग कुराकानी गरेरै सीमामा काँडेतार अथवा पर्खाल लगाउन सकिन्छ’, अन्तर्राष्ट्रिय सम्बन्धन समितिमा नेपालले भनेका थिए ।
‘वास्तवमा नेपालको सीमा मिचिएको र भारतले कुटनीतिक रुपमा भन्दा पनि हेप्ने शैलीमा अतिक्रमणलाई औपचारिकता दिएको नेता नेपालको सुझावका आधारमा प्रष्टिन्छ’, उच्च स्रोतले भन्यो,‘यो राष्ट्रियता र राष्ट्रवादको दिशामा मुलुकलाई अगाडि बढाउनका निम्ति अर्थ बोक्ने सुझाव हो ।’
सरकारले भारत सरकारसँग बारम्बार सीमा विवादका विषयमा वार्ताका लागि प्रक्रिया र ‘नोट’ जारी गरे पनि भारतीय पक्षले त्यसमा खासै प्रगति हेर्न रुचाएको छैन । सीमालगायतका नेपाल–भारत असमझदारीका कतिपय सन्धि पुनारवलोकन गर्नका निम्ति दुवै मुलुकले फरक–फरक प्रबुद्र्ध व्यक्तिको समूह बनाई नौवटा बैठकमार्फत प्रतिवेदन तयार पारेको थियो ।
उक्त प्रतिवेदन नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेका थिए भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म बुझेका छैनन् । प्रतिवेदन नबुझेको र यस विषयका वार्ता अघि बढाउन भारतले पहल नगरेकाबीच त्यहाँका रक्षामन्त्री राजनाथ सिंहले भारतदेखि नेपाली भूमी हुँदै तिब्बतको मानसरोबर जोड्ने सडकको उद्घाटन गरेका थिए । जुन सडक भारत–चीनको लिपुलेक सम्झौताको उपज भए पनि सबै नेपालमा पर्दछ ।











प्रतिक्रिया