
काठमाडौँ, २८ वैशाख । आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण गरेका छन् ।
मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो ।
मलहोत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क विभिन्न अस्पताल, सुरक्षा निकाय, सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निशुल्क वितरण गर्दै आईरहेका छन् ।
कोरोनाभाईरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर चिकित्सकहरु बिरामीको उपचार गरिरहेका चिकित्सक साथीहरुलाई संघमै आएर मास्क वितरण गर्न पाएकोमा मलहोत्राले खुशी व्यक्त गरे ।
उनले भोलिका दिनमा पनि चिकित्सक संघसँग सहकार्य गरेर अगाडी बढने जनाउँदै अहिलेको महामारीमा संघलाई अन्य थप सहयोग पनि गर्ने प्रतिवद्दता व्यक्त गरे ।
कोरोनाभाइरस कोभिड–१९ फैलिन सक्ने त्रासकाबीच मास्क अभाव भईरहेका बेला मलहोत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशको लागि धेरै राम्रो काम र ठूलो सहयोग गर्नुभएको उक्त मास्क हस्तान्तरण कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।
मनका धनी मलहोत्राले अहिले व्यवसाय गर्न भन्दा पनि सामाजिक कामका लागि मास्क कम्पनी सन्चालनमा ल्याएको बताए । उनले आफ्नो कम्पनीले दिनमा करिब ७० हजार मास्क उत्पादन गर्ने र सुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटल लगायतका क्षेत्रमा वितरण गरिँदै आएको बताए ।
उनले अबको केही दिनबाट मास्कको सर्टेज नहुने समेत दावी गरे । आफूहरुले उत्पादन गरेको सर्जिकल मास्क बजारमा समेत उपलब्ध रहेको उनले बताए ।
आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य भएको उनले बताए । बजारमा छ्यापछ्याप्ती मास्क उपलब्ध हुँदैछ अब मास्क नपाएर आत्तिनु पर्दैन मलहोत्राले भने । उक्त मास्क न्युन मूल्यमा पाइने समेत मलहोत्राले बताए ।
यस्तो बेला जनता र सरकारलाई सहयोग गर्न पनि नाफा नखाने उनले बताए । चेम्बरले केही समयअघि कोरोनाभाइरस नियन्त्रण सम्बन्धी बनाएको सहजीकरण समितिको संयोजक समेत रहेका मलहोत्रा अहिलेको लकडाउनको समयमा पनि दैनिक मास्क वितरण गर्नमै व्यस्त रहेका छन् ।
मलहोत्राले अहिलेको महामारीमा घरमै बसी सरकारले लागु गरेको लकडाउन पालना गरिदिन समेत सबैलाई आग्रह गर्दै आफू सुरक्षित हुँदै समाजलाई समेत कोरोनाबाट सुरक्षित राख्न अनुरोध समेत गरे ।















प्रतिक्रिया