
–प्रतिक पौडेल
भैरहवा, २८ वैशाख । रुपन्देहीको मर्चवार क्षेत्रको सीमा नाकामा थेगी नसक्नुको भीड लाग्ने गरेको छ । भारतसँग जोडिएको मर्चवार क्षेत्रसँग जोडिएको सीमा नाकामा लुकीछिपी नेपालतर्फ भित्रिने क्रम जारी छ ।
मर्चवार क्षेत्रमा रातको समयमा लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम जारी छ । सिमा नाकामा दिनभर भारततर्फ नेपाली जम्मा भएर बस्ने र रात परेपछि ९ बजे पछिको समयमा भारतिय सिमा सुरक्षा बलकै सहयोगमा नेपाल प्रवेश हुने गरेको पाइएको जानकारी मर्चवार क्षेत्रका पत्रकार राम बिकास चौधरीले दिए । चौधरीका अनुसार मर्चवारको तिन वटै गाउपालिका कोहटीमाई, मर्चवारी र सम्मरीमाईको अवस्था उस्तै रहेको छ ।
चौधरीले उक्त कुरा प्रमाणित गर्न यस क्षेत्रमा स्थापना भएका क्वारेन्टाइन हेरे पुग्ने बताए । चौधरीका अनुसार सम्मरीमाई गाउपालिका ७ स्थित मदरसा उम्मुल मोमेनिन आइसा अलसिद्दिका लिल बनातिल इस्लामियामा चैत्र १८ गतेबाट संचालित क्वारेन्टाइनमा भारत बाट आएका नागरिकको अत्याधिक भिड बढेको छ । गाउपालिकाले ३० बेड क्षमताको क्वारेन्टाइन भने पनि सो क्वारेन्टाइनमा भर्ना हुनेको संख्या ७३ पुगेको छ ।
उक्त क्वारेन्टाइनमा गाउपालिकाले ब्यवस्थापकीय कमजोरी देखाउदै चैत्र २१ गते जनप्रतिनिधिका रोहबरमा २४ जना बिना चेकजाँच घर पठाएको जानकारी चौधरीले दिए ।
स्थानिय पत्रकार हृदयराम गुप्ताको अनुसार मर्चवारीमाई स्थित क्वारेन्टाईनको हाल पनि उस्तै छ । ७५ बेड क्षमता रहेको मर्चवारीमा ९० पुगेका छन ।
जनता मा.बि.स्थित ५० बेड क्षमताको क्वारेन्टाइनमा ५४ तथा २५ बेड क्षमताको जनहित प्रा.बि.स्थित क्वारेन्टाइनमा ३६ जनालाई राखिएको छ ।
भारतीय सीमा सुरक्षा बल (एस.एस.बी)को सहयोगमा नेपाली सुरक्षाकर्मीको आँखाछल्दै सीमापार गर्नेहरुको संख्या एक्कासी बढ्न थालेपछि नेपाली क्वारेन्टाइनको अवस्था नाजुक बन्दै गएको संचारकर्मीहरुको भनाई छ । स्थानीय संचारकर्मी असलम खानका अनुसार यो संख्या अझ बढ्ने सम्भावना छ ।
नेपाल सरकारको निर्णय बिपरीत खुल्ला सीमानाकाबाट हूलका हूल भित्रिनेको संख्या बढ्दै गएपछि स्थानीय पनि चिन्तित छन ।
यस अघि कोरोना संक्रमण देखिएका कपिलवस्तु जिल्लाको मायादबी १ पकडी स्थित क्वारेन्टाइनमा २५ जनाको संख्यामा एक हूल मानिस भारतको बाम्बेबाट सँगै हिडेर चोरबाटो हुदै नेपाल प्रबेश गरेको जनता समाजवादी पार्टी सम्मरीमाईका नेता निरन्जन पाठकको चिन्ता छ ।
हिजो वैशाख २६ गते देखि भारतबाट आउनेहरुको संख्यामा अप्रत्यासित बृद्धिले ब्यवस्थापनमा समस्या निम्त्याएको स्वीकार्दै सम्मरीमाई गाउपालिका स्वास्थ्य संयोजक मुन्शी प्रसाद माझी भन्छन, “हामी ब्यवस्थापनमा लागेका छौ, सबैलाई पुग्ने गरि टेन्टहाउसबाट खाट पनि मगाइसकेका छौ ।” त्यसैगरि मर्चवारीका स्वास्थ्य संयोजक बिनोद बरईले तेश्रो ठाउमा थप क्वारेन्टाइनको ब्यवस्थापनमा लागेको बताएका छन् ।
भारतबाट सीमापार गरि आउनेहरुको संख्या बृद्धिले सिमा क्षेत्रमा निगरानी बढाएको प्रहरी प्रशासनको दाबीलाई खण्डन गरेको बताउदै सामुदायिक विपत ब्यवस्थापन समिति राष्ट्रिय संजालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी भन्छन्, भारतको बिभिन्न सहरबाट हजारौको संख्यामा आई सीमापार भारतबाट लुकीछिपी नेपाल प्रबेस गर्ने तरखरमा रहेकाहरुलाई नेपाल सरकारले यथाशीघ्र सुरक्षित प्रबेसको बाटो खोल्नु आवश्यक छ ।
स्थानीय पालिकाहरुले भारत लगायत तेश्रो मुलुक रहेकाहरु समेतको तथ्याकं संकलन गरि सोही अनुसार क्वारेन्टाइनको ब्यवस्थापन गर्न समेत कुर्मीको आग्रह छ ।















प्रतिक्रिया