काठमाडाैं, २७ वैशाख । भारत हालसम्म २८ जना नेपालीमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
संक्रमित नेपालीहरूमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका हुन् । अन्य पाँच जना केही महिनाअघि मात्र भारत आएका थिए ।
१२ जना उपचारपछि निको भइसकेका छन् । बाँकी १५ जनाको उपचार चलिरहेको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुनेमा हरियाणा रोहतकका ४५ वर्षीय पुरुष छन् । पाल्पा घर भएका ती संक्रमित नेपाली कामकै सिलसिलामा रोहतकमा बस्दै आएका थिए ।
पछिल्लो संक्रमण बैतडी, दोगडा केदार गाउँपालिकाका २३ वर्षीय पुरुषमा देखिएको छ । ती संक्रमित नेपाली एसियाकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार मानिने आजादपुर तरकारी बजारको एउटा फलफूल पसलमा काम गर्दै आएका थिए ।
संक्रमित नेपालीहरुमध्ये पनि सबैभन्दा बढी महाराष्ट्रका छन् । महाराष्ट्रको मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको सुदूरपश्चिम अछाम मूल घर भएको एक नेपाली परिवारका आठ जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।
संक्रमित सबैजना उपचार पछि निको भइसकेका छन् । मुम्बईकै थानेमा रहेका अन्य तीन जनामा नेपाली कामदारहरू पनि संक्रमण देखिएको छ ।
कैलाली घर भएका उनीहरुको उपचार चलिरहेको दूतावासले बताएको छ । साथै मुम्बईकै दानावरमा बस्ने अर्का एक ५७ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको पोजिटिभ देखिएको छ ।
महाराष्ट्रकै अर्को सहर पुनेमा बस्दै आएको अछामको एकै परिवारको तीन जना संक्रमित भएका छन् । २८ वर्षीय घरमूली, उनकी २२ वर्षीय श्रीमती र ५ महिनाका छोरामा भाइरसको देखिएको हो ।
हरियाणाको गुडगावँस्थित एउटा औषधी पसलमा काम गर्दै आएकी ३१ वर्षीय महिला नर्समा पनि संक्रमण पुष्टि भएको छ । दिल्लीस्थित दूतावासका अनुसार नवलपरासी घर भएकी ती महिला नर्सको हाल उपचार चलिरहेको र अवस्था सामान्य रहेको छ ।
दक्षिण भारतको बैंग्लुरुमा बस्दै आएका बझाङ, चैनपुरका चार जना नेपालीहरुमा पनि कोभिड–१९ देखिएको थियो । सबैभन्दा पहिले परिवारका घर मूली र उनकी श्रीमतीमा संक्रमण देखिएको थियो ।











प्रतिक्रिया