बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

दक्षिण कोरियाका क्लब र बारहरू बन्द

दैनिक नेपाल २०७७ वैशाख २७ गते ६:१९

दक्षिण काेरिया, २७ वैशाख ।  दक्षिण कोरियाका क्लब र बारहरू फेरि बन्द गर्ने घोषणा गरिएको छ ।

दक्षिण कोरियाको सरकारले आउँदो एक महिनासम्मका लागि क्लब र बारहरु बन्द गर्ने घोषणा शुक्रबार गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएर पनि नियन्त्रण गर्न सफल भएको दक्षिण कोरियामा फेरि सङ्क्रमितहरु देखिन थालेपछि सतर्कता बढाउन थालिएको जनाइएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बेलुका ८ बजेदेखि एक महिनाका लागि ती व्यापारिक प्रतिष्ठानहरु आफैँ बन्द गर्न आग्रह गरिएको योन्हप समाचार संस्थाले दक्षिण कोरियाली अधिकारीहरूलाई उदृत गरी जानकारी गराएको छ ।

सरकारले अन्य क्षेत्रमा पनि थप कडाइ गर्न र आवतजावत गर्नेहरुको लगत राख्ने योजना पनि बनाएको बताएको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण पहिले नियन्त्रणमा राख्न सकिएको समाचारहरू आएका थिए तर फेरि नयाँ सङ्क्रमितहरु देखिन थालेकोले रात्रिक्लब तथा बारहरूलाई बन्द गर्ने घोषणा सरकारले गरेको हो ।

स्वास्थ्य अधिकारीहरुका अनुसार हालै २९ वर्षीय एक व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ती व्यक्ति विभिन्न क्लबहरुमा गएर फर्केपछि सङ्क्रमण भएको पाइएको छ ।

कोरियाको रोग नियन्त्रण तथा न्यूनीकरण केन्द्रले शुक्रबार १४ जना नयाँ सङ्क्रमित भेटिएको जानकारी दिएको छ । सङ्क्रमित भएकामध्ये तीन जना विदेशी नागरिक र एक जना सैनिक रहेको केन्द्रले जनाएको छ । बिरामी सबै १९ देखि ३७ वर्षसम्मका रहेको अधिकारीहरुको भनाइ छ ।

मास्क लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरुप्रति बेवास्ता गर्दै रात्रि जीवनमा रमाएका बेला उनीहरु सङ्क्रमित भएको बताइएको छ । दक्षिण कोरियामा पछिल्लो केही समय कोराना भाइरसबाट सङ्क्रमित नयाँ विरामीहरु देखिएका थिएनन् ।

तर फेरि नयाँ सङ्क्रमितहरु देखिन थालेपछि सामाजिक दूरी कायम गर्न, क्वरेन्टीनमा बस्न र स्वास्थ्य सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित