७ मंसिर २०८३, सोमबार

इटहरीका मेयर चौधरीको छवि विवादित

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २६ वैशाख । भ्रष्टाचारविरोधी भाषणबाजीलगायतका विषयमा मिडियामा एकाएक चर्चामा आएका इटहरी उपमहानगरपालिकाका प्रमुख (मेयर) द्वारिकलाल चौधरी एक पछि अर्का काण्डका कारण विवादित हुन थालेका छन् ।

केही दिन अघि श्रीमान विदेशमा रहेका एक महिलाको घरमा मदिरा सेवन गरेको भनी स्थानीयले चर्चा गरेपछि उनको राती नै खोजी भएको थियो । त्यहाँबाट फरार रहेको भनी चर्चा भएपछि सामाजिक सञ्जाललगायतमा उनको आलोचना भयो । यसै सन्दर्भमा उनले भनेका थिए,‘चिसो खाएको हो, जनताको घरमा जान नहुने ? त्यस्तो के अपराध गरेको छु र ?’

यो प्रकरणको चर्चा सेलाउन नपाउँदै उनले इटहरी–५ का तारा पोखरेललाई टेलिफोन गरी ‘तेरो बुढीको पोई’ भन्ने मेयर चौधरी नै रहेको दाबी गरिएको छ । यतिमात्र होइन उक्त अडियो पनि सामाजिक सञ्जालदेखि मिडियामा चर्चामा छन् । पोखरेलले फेसबुकमा नै मेयर चौधरीबाट आफूलाई सुन्नै नसकिने शव्दको प्रयोग गरिएको दाबी गरेका छन् ।

पत्रकारको नाकको डाँडी भाँच्नका निम्ति एक करोड बजेट छुट्याएको छु भन्ने उनको अडियोदेखि अनेक प्रकरणमा मेयर चौधरी विवादमा तानिँदै आएका छन् । उक्त प्रकरणपछि इटहरी साना सहरी तथा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तथा नेकपा सुनसरी सदस्य रामप्रसाद चौलागाईसँगको झगडा र संवादका विषयमा चौधरी विवादमा थिए । उनले चौलागाँईलाई मञ्चमा थप्पड हान्नेदेखि घरमा नगर प्रहरी पक्राउका लागि पठाएकोसम्मका चर्चा थिए ।

नेकपा प्रदेश १ का सदस्य समेत रहेका चौधरीलाई प्रदेश समितिले बैठक राखी चौलागाईसँगको विवाद सुल्झाएको थियो । हाल भने नयाँ विषयको विवादले उनको छविमा प्रश्न गरेको छ ।