सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बेलायतमा लकडाउन सिफारिस गर्ने प्राेफेसरले राजीनामा दिए

दैनिक नेपाल २०७७ वैशाख २४ गते ७:४४

लण्डन, २४ वैशाख । बेलायतमा लकडाउन सिफारिस गर्ने प्राेफेसर निल फर्ग्युसन आफैले सामाजिक प्रतिबन्ध (व्यक्तिगत दुरी) काे पालना नगरेपछि पदबाट राजीनामा दिएका छन् । उनी काेराेनाकाे विषयमा बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् ।

आफ्नाे राजीनामाकाे घाेषणा गर्दै उनले भने, ‘आफूले गलत गरेकाे म स्वीकार्छु । यस कारण म पदबाट हटेकाे हुँ । काेराेना महामारीबाट बच्न मैले सामाजिक प्रतिबन्ध र व्यक्तिगत दुरीलाई जाेड दिँदै आएकाे थिएँ र आफैले त्यसलाई नजरअन्दाज गरेँ ।’

लण्डनकाे डेली टेलिग्राफ अखबारले एउटा रिपाेर्ट छापेकाे थियाे, जसमा प्राेफेसर फर्ग्युसनले एक महिलालाई आफ्नाे नजिक आउन दिएका थिए र त्याे सामाजिक प्रतिबन्धसम्बन्धी नियमकाे उल्लङ्घन थियाे ।

प्राेफेसर फर्ग्युसन सेन्टर फर ग्लाेबल इन्फेक्शन डिजिज एनालिसिसका निर्देशक हुन् । याे संस्थाले सरकार र विश्व स्वास्थ्य सङ्गठनलाई आफ्रिकामा इबाेलादेखि लिएर अहिले महामारीकाे रुप लिइरहेकाे काेराेनासम्मकाे विषयमा सल्लाह दिन्छ ।

यही संस्थाले गएकाे जनवरीमा विश्वलाई काेराेनाकाे खतरासँग सचेत गराएकाे थियाे । चिनियाँ अधिकारीहरुले वुहान केवल केही दर्जन व्यक्ति काेराेनाबाट सङ्क्रमित भएकाे बताइरहेकाे बेला याे संस्थाले कम्तीमा सयाैँ व्यक्ति सङ्क्रमित भइसकेकाे बताएकाे थियाे ।

प्राेफेसर निल फर्ग्युसनकाे टिमले नै आफ्नाे अनुसन्धानकाे आधारमा बेलायतकाे तत्काल कुनै कदम नउठाए काेराेना भाइरसबाट झण्डै पाँच लाख व्यक्तिकाे ज्यान जाने बताएकाे थियाे ।

उनकै सल्लाहमा बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनले गएकाे २३ मार्चमा लकडाउन घाेषणा गरेका थिए । त्यसबेलादेखि निल फर्ग्युसन प्राेफेसर लकडाउनकाे नामले चर्चित भएका थिए । उनी आफ्नाे पदबाट राजीनामा दिने पहिलाे स्वास्थ्य विशेषज्ञ भने हाेइनन् ।

यसअघि गएकाे अप्रिल ६ मा स्क्टल्याण्डका प्रमुख मेडिकल अफिसर डाक्टर क्याथरिन कैलडरवुडले लकडाउनकाे क्रममा आफ्नाे दाेस्राे घर जाँदा पदबाट राजीनामा दिनुपरेकाे थियाे ।

प्रतिक्रिया
सम्बन्धित