आइतबार, २० जेठ २०८१
DainikNepal.com
आइतबार, २० जेठ २०८१

नेकपाको कलह मिलाउन राष्ट्रपति भण्डारीले गरेको त्यो एउटा फोन

दैनिक नेपाल २०७७ वैशाख २१ गते १०:४९

काठमाडौं, २१ वैशाख । शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले वार कि पारमा रहेको आन्तरिक कलह निमिट्यान्न पार्दै आश्चर्यचकित हुनेगरी गरेको निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा फोन प्रभावकारी ठहर भएको छ ।

नेताहरूबीच पक्ष र विपक्षको अन्तरविरोधले पार्टी विभाजनको दिशातिर जान लागेकै बेला राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्राध्यक्ष सी चीन फिनबीच विहीबार टेलिफोन वार्ता भएको थियो । कोरोना महामारीका सन्दर्भमा भएको उक्त संवादका क्रममा नेपालको राजनीतिक परिस्थितिका विषयमा पनि कुराकानी भएको अड्कल काटिएको छ ।

सोही संवादपछि नेकपाको आन्तरिक कलहमा चासो राखिरहेको चीनले व्यवस्थापनका निम्ति प्रत्यक्ष उपस्थिति जनाएको विश्लेषण गरिएको छ । शुक्रबार दिनभरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा बरिष्ठ नेता माधवकुमार नेपालसँग निवासमा पुगेर छुट्टाछुट्टै कुराकानी गरेकी थिइन् ।

यान्छीले नेकपा नेताहरूसँग परामर्श गरी विवाद सुल्झाएर अगाडि बढ्न सुझाव दिएपछि शनिबार सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीसँग अन्य नेताको ‘वान टु वान’ कुराकानी चलेको थियो । खासगरी विवाद समाधानका निम्ति ओली र प्रचण्डको सहमति नै प्रभावकारी विन्दु थियो, जुन शनिबार ४० मिनेटसम्म बालुवाटारमा चलेको थियो ।

उच्च स्रोतहरूका अनुसार नेकपाको गठबन्धन, एकीकरणसम्मका लागि सहजीकरण गरेको चिनियाँ पक्षले अहिलेको असहज परिस्थितिमा राजनीतिक अस्थिरतामा नजानका लागि नेताहरूलाई ‘कन्भिन्स’ गरेको थियो । विभाजन बाहेकको विकल्पको सहमति खोज्नका लागि कुटनीतिक रुपमा गरिएको आग्रहका आधारमा नै ओली–प्रचण्डले सहमतिको नयाँ विन्दु पहिल्याउन सकेको कतिपयको बुझाई रहेको छ ।

तीन चार महिनादेखि चलिरहेको आन्तरिक विवाद, विविध पक्ष र विपक्षका अनेक बैठकले उत्पन्न गराएको असमझदारी समाधानका लागि राष्ट्रपति भण्डारीको त्यो फोन कल नै प्रभावकारी भएको बताइन्छ । ‘छिमेकी मुलुकले राजनीतिक अस्थिरता नहोस् भन्ने चहानु स्वभाविक हो । हाईलेभल कुराकानीमा सबै कुरा भन्न पर्दैन, साधारण कुराकानीका क्रममा नै समस्याका विषयमा बुझ्न सकिन्छ’, उच्च स्रोतले भन्यो,‘हुनसक्छ, त्यसैकारण नेकपाको विवाद मिलाउन चिनियाँ प्रशासनले केही सहजीकरण गरिदियो ।’

प्रतिक्रिया
सम्बन्धित