३ कार्तिक २०८३, मंगलबार

लकडाउन अवधिमा काठमाडौँ महानगरको पहलमा एक लाखलाई खाना, ८० हजार बढीलाई राहत

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० वैशाख । लकडाउन अवधि लम्बिएसँगै काठमाडौँ महानगरपालिकाले अति विपन्न, असाहय र मजदुरलाई दैनिक खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ ।

महानगरपालिकाले आफ्नै स्रोत र विभिन्न सहयोगी संघ–संस्थाहरुको पहलमा अहिलेसम्म ८१ बढी हजारलाई राहत वितरण गरेको छ । त्यसैगरी अहिलेसम्म एक लाखको हाराहारीलाई खाना खुवाएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ–आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई राहत वितरण तथा खाना खुवाउनेलगायतका अन्य प्रयास गरिरहेको बताए ।

‘महानगरपालिका क्षेत्र भित्र रहेका असाहय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस भनेर राहत वितरणसँगै खाना खुवाउने कामलाई पनि निरन्तरता दिदैँ आएका छौँ,’ प्रमुख शाक्यले भने, ‘लकडाउनको अवधिमा कोही महानगरवासी भोकै परेको भए हामीलाई जानकारी दिनुहोला । हामी उहाँहरुको जिम्मेवारी लिन तयार छौँ ।’

उनले लकडाउनको अवधिमा कोही पनि भोक–भोकै पर्नु पर्ने अवस्था नआवोस् भनेर समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गर्न केही परोपकारी संस्थासँग पनि सहकार्य गरेर खाना खुवाउने काम गरिरहेको जानकारी दिए ।

कतिपय स्थानमा मेयर शाक्य आफैँ पनि अनुगमनका लागि पुग्ने गरेका छन् । केही दिन अघि निरिक्षणका लागि चमती पुग्नु भएका प्रमुख शाक्यले जनतासँगै बसेर खाना खाएका थिए । जनतासँगै बसेर प्रमुख शाक्यले खाना खाँदा स्थानीयहरु पनि खुशी भएका थिए ।

महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि महानगरपालिका क्षेत्र भित्र कोही पनि भोकै नपरुन भन्ने उदेश्यले राहत वितरणसँगै खाना खुवाउने कामलाई पनि निरन्तरता दिएको जानकारी दिए ।

‘लकडाउन सुरु भएदेखि अहिलेसम्म महानगरपालिका आफैँ र विभिन्न सहयोगी दाताहरुको समन्वयमा करीब ८२ हजारलाई राहत वितरण गरेका छौँ,’ उनले भने, ‘अहिलेसम्म खाना खुवाएकाहरुको संख्या १ लाखको हाराहारीमा पुगेको छ । अधिकांश वडाले स्थानीय संघ–संस्था र सहयोगी दाताहरुसँग सम्वन्य गरेर खाना खुवाउने कामलाई निरन्तरता दिदैँ आएका छन् ।’

केन्द्रलाई पठाएको तथ्याङ्क अनुसार अहिलेसम्म वडा नम्बर–६ ले मात्रै २५ हजार बढीलाई खाना खुवाएको छ । सिद्धार्थ हल कुमारी गाल, चुच्चेपार्टी चोक लगायतका स्थानमा खानाको व्यवस्था गरिएको छ ।

त्यसैगरी वडा–१४ ले १९ हजार बढीलाई खाना खुवाएको छ । जागरण बस्ती सुधार संघ, सामूदायिक टोल सुधार समितिलगायतको समन्वयमा खाना खुवाउने काम भैरहेको वडाले जानकारी दिएको छ ।

वडा–३ ले पनि दैनिक दुई हजार बढीलाई खाना खुवाउँदै आएको जानकारी दिएको छ वडासँग सम्वन्वय गरे बोधिसतुवा बिहारले अव्यबस्थित बस्तीमा भएका परिवार, टिचिङ् हस्पिटल महाराजगञ्ज र कान्ति बाल अस्पतालमा भर्ना भएका बिरामीका कुरुवालाई दैनिक खानाको व्यवस्था गर्दै आएको वडाध्यक्ष दिपक केसीले जानकारी दिए ।

त्यसैगरी वडाकै समन्वयमा नारायणगोपाल चोकको एरिकल व्याङ्क्वेटकातर्फबाट होम बुढाथोकी र मेघा पार्टी प्यालेसले दैनिक खाना खुवाउने गरेका छन् । सामुदायिक सेवा केन्द्रबाट गंगालाल र न्युरो अस्पतालमा भर्ना भएका बिरामीका कुरुवाका लागि खानाको व्यवस्था गर्दै आएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा–१५ का अध्यक्ष इश्वरमान डंगोलले पनि आफ्नो वडामा दैनिक १६ सयको हाराहारीलाई एक छाक खानाको व्यवस्था गरेको जानकारी दिए ।

‘अहिले वडा–१५ का भूँइखेल, चमती, बुद्धपार्क, जनगल्ली विजयश्वरी गरी चार ठाउँमा खाना खुवाउने काम भैरहेको छ,’ प्रवक्ता डंगोलले भने, ‘भोलिबाट अन्नपूर्ण चोक चक्रपथबाट सुरु गर्ने तयारी भएको छ । अहिले यी चार स्थानबाट लगभग १६ जवानलाई दैनिक एक छाक खाना खुवाइ रहेका छौँ ।’ यी चार स्थानमा विभिन्न संघ–संस्थाले पनि खाना खुवाउनका लागि सहयोग गरिरहेको उनले जानकारी दिए ।

उनले वडाकै नेतृत्वमा धादिङ, मकवानपुरलगायतका स्थानका किसानबाट तरकारी ल्याएर उपभोक्तासमम पुर्याउने काम भैरहेको पनि जानकारी दिए ।

‘महानगरवासी कोही पनि भोकै नरहुन भनेर पहिलो चरणमा राहत वितरण गरेका थियौँ,’ उनले भने, ‘राहत वितरणमा भिडभाड हुनेलगायतका केही समस्या पनि भए । अब खान नपाउनेहरुलाई खाना पकाएर खुवाउने र सकेसम्म घर–घरमा प्याकिङ सिस्टमको व्यवस्था गर्नेसम्मका विषयमा पनि सोचिरहेका छौँ ।’

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमापनि महानगरपालिकाका विभिन्न स्थानमा सामूहिक मेस नै सञ्चालनमा रहेको छ । महानगरको वडा १६ अन्तरगत बाइपासको तरुण मावि, गंगाहल नजिक होलीगार्डेन स्कुलसँगै, बाइसधारा स्विमिङ पुलको पछाडि बिहान बेलुकी खाना खुवाउने गरिएको छ ।

यस्तै, वनस्थली खरिबोट, सानोभर्याङ, मैपी मन्दीरको प्रांगण र नयाँबजारको सासा बैंक्वेटमा बिहान बेलुकी नै खाना खुवाउने गरिएको मन्त्री मानन्धरले जानकारी दिएका छन् । महानगरको १७ नम्बर वडाको इन्द्रायणी मन्दिरमा पनि साँझको खाना खुवाउने गरिएको छ ।

वडा–१८ ले २ हजार र वडा–२७ ले ३ हजार बढीलाई खाना खुवाएको छ । वडा–५ ले पनि २ हजार बढीलाई खाना खुवाएको जानकारी दिएको छ । वडा–८ ले पसुपति विकास क्षेत्र कोषसँगको समन्वयमा ५ सय बढीलाई खाना खुवाएको छ ।

कोटेश्वर समाज सुधार युवा क्लव, सेती ओपी क्लव कोटेश्वरलगायतसँगको समन्वयमा वडा–३२ ले पनि ७ सय बढीलाई खाना खुवाएको जानकारी दिएको छ । वडा–२२ ले पनि उपकार सेवा समितिको पहलमा न्युरोडमा १ सय बढीलाई खाना खुवाएको छ ।