७ मंसिर २०८३, सोमबार

चीनबाट काेराेनासम्बन्धी स्वास्थ्य सामग्री ल्याउन ढिलाइ हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २० वैशाख । छिमेकी मित्र राष्ट्र चीनमा अन्तर्राष्ट्रिय मजदूर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लगाउने भएको छ ।

चीनमा आजदेखि आगामी मङ्गलबारसम्म सार्वजनिक बिदा दिइएको छ । सार्वजनिक बिदाका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया पूरा गर्न नसकिने भएकाले थप केही दिन लाग्ने देखिएको हो । यसअघि आगामी मङ्गलबार सामान लिनका लागि नेपाल वायु सेवा निगमका वाइड बडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरिएको थियो ।

नेपाल ल्याउने सामान तयारी अवस्थामा चीनको ग्वान्जाओमा आइपुगेको छ । ‘चीनमा लामो सार्वजनिक बिदा परेका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया मिलाउन थप केही दिन लाग्ने खबर आएको छ’, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले भन्नुभयो । नयाँ तालिकाअनुसार आगामी बिहीबार वा शुक्रबार मात्रै निगमका दुई वटा बाइड बडी जहाज चीन पठाइनेछ ।

स्वास्थ्य सामग्री खरिदका लागि सेनाले द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको थियो । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जीटुजी)मार्फत प्रक्रिया अगाडि बढाएको हो ।

नेपाली सेनाका प्रवक्ता पाण्डेका अनुसार निगमको जहाजले झण्डै ३० टन स्वास्थ्य सामग्री ल्याउनेछ । तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई माध्यमबाट ल्याइने र अन्य सामग्री भने स्थलमार्गबाट ल्याइने तयारी गरिएको छ ।

चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो । हवाई मार्गबाट कूल ३० टन सामान आयात गर्न सकिए बाँकी रहेका ३१२ टन सामान भने स्थलमार्ग हुँदै नेपाल– चीन सिमाना तातोपानी ल्याइनेछ ।

ग्वान्जाओबाट हिँडेको सामान सात दिनमा तातोपानी आइपुग्नेछ । सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गो लगाएको थियो ।

सेनाले १० दिन पहिले नै नेपाल राष्ट्र बैंकमार्फत पैसा चीन पठाएको थियो । ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको थियो ।

अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६।३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ ।