
काठमाडौँ, १९ वैशाख । नेपाल कोरोनाभाइरसको उच्च जोखिममा नरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।
नेपालमा उपयुक्त समयमा लकडाउनको विधि अपनाइएको र सर्वसाधारणले सामाजिक दुरी कायम राखेर सहयोग गरेकाले कोरोनाको जोखिम रोक्न सकेको उनले बताए ।
शुक्रबार राष्ट्रियससभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री ढकालले भने, ‘लकडाउनको अवस्थामा कष्टपूर्ण भए पनि सबैले साथ दिनुभएकोले हाम्रो मुलुकमा जोखिमलाई न्यूनीकरण गर्नमा एक हदसम्म सफलता हात पारेका छौँ । तर, सफलताका बारेमा सबैका आ(आफ्ना बुझाइ हुनसक्छन् ।’
‘दक्षिण पूर्वी एसियाको हिसाबले हेर्ने हो भने कोरोनाका कारण मृत्यु नभएका १० मुलुकमध्ये नेपाल पनि एक हो । दक्षिण एसियाको कुरा गर्ने हो भने भुटान र माल्दिभ्सपछि तेस्रो स्थानमा उपस्थित छौँँ’ उनले भने, ‘यसले जसरी विश्वमा महामारीको अवस्था ल्याएको छ त्यसमा गरिएका सावधानीले हामी उच्च जोखिममा छैनौँ ।’
सुरुमा विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेको तर पछि सरकार र सबै सरोकारवालाले चालेको कदमले त्यो सूचीबाट हटेको मन्त्री ढकालले बताए । ‘त्यसको अर्थ हामीले हिजोको भन्दा प्रगति गरेका छौैँ’ उनले भने ।
कोरोना रोकथामका लागि स्वास्थ्य सेवा प्रणालीमा सरकारले धेरै प्रगति गरेको मन्त्री ढकालले बताए ।
‘पहिलो केस कोरोना हो कि होइन भन्ने यकिन गर्न स्वाब हङकङ पठाइएको थियो । आज नेपालभित्रै १६ ठाउँमा परीक्षण गरेर यो हो कि होइन भन्ने टुंगो लगाउने अवस्थाको सफलता प्राप्त गरेका छौँ । अहिले हामी १६ ठाउँमा चेक गर्छौँ’ उनले भने ।
त्यस्तै उनले नेपालमा जोखिम निकै नियन्त्रण गरिएकोले वैशाख २५ गतेपछि लकडाउन केही खुकुलो बनाउने संकेत गरेका छन् । उनले कोरोना संक्रमण नभएका ठाउँहरुमा लकडाउन केही खुकुलो बनाउन सकिने बताएका हुन् ।















प्रतिक्रिया