४ कार्तिक २०८३, बुधबार

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं ।  रेडियो नेपालकी प्रथम गायिका तथा शिक्षासेवी रानुदेवी अधिकारीको निधन भएको छ । उनकाे बिहीबार राति निधन भएकाे परिवारजनले बताएका छन् ।

सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् ।

२००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो ।

विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गरेका हुन् । उनले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो सुरिलो स्वरमा गीत गाएकी थिइन् ।

उनका रेकर्ड भएका गीतहरूमा जुनेली रात हजुर, ‘मेरो मुटुको माझमा कसको तस्बिर’, ‘चरी भुर्र उडी घरमा मेरो जाऊ’, ‘तिमी दूर देशका परदेशी’, ‘जुनेली रात हजुर गम्किन्छ बात हजुर’, ‘जागे नेपाली उठे नेपाली’, ‘फागुको शीतल बतास’लगायत छन् ।

नेपाली राजनीतिकी आदर्श ब्यक्ति तथा कांग्रेस नेतृ नोना कोइरालाकी बहिनी समेत रहेकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक क्षेत्रबाट योगदान गरेकी थिइन् ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गर्नु भएकाले उहाँलाई प्रजातन्त्र सेनानीको रुपमा पनि स्मरण गरिन्छ ।

रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको हो । उनको बाल्यकाल बनारसमा बित्यो । उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको थियाे ।