३ कार्तिक २०८३, मंगलबार

सबैको सहयोगले कोरोना नियन्त्रणमा सफलता मिलेको छ : मन्त्री ढकाल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै पक्षको सहयोगका कारण कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता मिलिरहेको बताउनु भएको छ ।

सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री ढकालले सम्पूर्ण नागरिकको सहयोगका कारण रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण सफलता प्राप्त भएको बताउनुभएको हो ।

उनले कोरोनाविरूद्धको लडाइँमा तुलनात्मक रूपमा नेपालको अवस्था अन्य देशको भन्दा माथि रहेको बताउँदै यसमा सरकार, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्था र विदेशमा रहेका शुभेच्छुकको सहयोग तथा ऐक्यबद्धताको योग रहेको उल्लेख गर्नुभयो ।

मन्त्री ढकालले भन्नुभयो, “सबैको प्रयासका कारण मुलुकमा ठूलो क्षति हुन पाएको छैन । नेपालसहित एशियाको १० राष्ट्रमा यस सङ्क्रमणबाट अहिलेसम्म कसैको पनि मृत्यु हुन पाएको छैन ।

सामान्यतः अन्य मुलुकमा औसत परीक्षणमा पनि हामी राम्रै गरिरहेका छौँ । बिरामीहरूमध्ये १६ जना घर फर्किसक्नुभएको छ । यो सकारात्मक पक्ष हो ।”

उनले कोरोनालाई नेपाल भित्रन नै नदिने प्रयास स्वरुप समयमै लकडाउनको निर्णय लिएर राम्रो गरिएको बताउँदै जोखिमको समयमा पीडा सहेर भए पनि नागरिकले साथ दिएको तथा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले पनि अभावका बीचमा काम गरेकाले महामारीको रुप लिन नसकेको जनाउनुभयो ।

मन्त्री ढकाललाई एनआरएनए अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष सोनाम लामाले छिमेकी चीनबाट ल्याएका पिपिई, केएन ९५ मास्कलगायत विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । –रासस