७ मंसिर २०८३, सोमबार

संविधान संशाेधन नेकपाकाे हातमा छैन, ओलीले फुटको राजनीति गर्नुभयोः देव गुरुङ

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीभित्र विधिभन्दा बाहिरका कुरा गर्नुको कुनै अर्थ नरहने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले नेकपाको सचिवालय बैठकमा आएको प्रवस्तावको विरोध गरे ।

उनले प्रधानमन्त्री केपी ओलीले विवाद समाधानका लागि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावको आलोचना गरे । उनले पार्टीभित्रको विवाद मिलाउने बेला फुटको राजनीति गर्न खोजेको भन्दै ओलीको विरोध गरेका छन् ।

उनले संविधान संशोधनका लागि नेकपाको मात्रै बहुमत नपुग्नेभन्दै व्यक्तिका लागि संविधान संशोधन गर्दै जाँदा के अवस्था आउला भनेर प्रश्न गरेका छन् ।

नेकपाको संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता गुरुङले विधानको व्यवस्था पहिले कि व्यक्तिभन्दै प्रश्न गरेका छन् ।

उनले अहिलेको सन्दर्भमा पार्टी एकता मुख्य भएको बताएका छन् । कुनै एक व्यक्तिका लागि र एक दलले चाहेर मात्र संविधान संशोधन नहुने नेता गुरुङले बताए ।

‘संविधान संशोधन, पार्टी विधान संशोधन सरोकारै नरहेका विषय भएकाले ती विषय अहिले आवश्यकता छैन’, प्रमुख सचेतक गुरुङले भने ।

उनले स्थायी समितिको बैठक आवश्यक भएकाले सो बैठक छिटो बोलाउन ओलीसँग आग्रह गरेका छन् ।

कोरोना भाइरसको संक्रमणको महामारी विरुद्धको अभियानलाई प्रभावकारी गराउने परिस्थितिमा विषयान्तर गरेर अल्झिन नहुने बेला ओलीले अनावश्यक विवाद गरेको गुरुङले बताए ।

प्रधानमन्त्री ओलीले केन्द्रीय सचिवालयको बैठकमा नयाँ प्रस्ताव ल्याएपछि नेकपा विवाद नयाँ मोडमा प्रवेश गरेको छ ।

पूर्वमाओवादी नेताहरूले ओलीको नयाँ प्रस्तावलाई रुचाएका छैनन् । उनीहरूले ‘फुटाउ र राज गर’भन्ने नीतिअनुसार प्रधानमन्त्री ओली चलेको आरोप लगाउँदै आएका छन् ।