
काठमाडौं, १७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलाउनका निम्ति सचिवालय बैठकमार्फत स्थायी समिति बोलाउनुपर्ने एकल एजेन्डा बुधबार प्रस्तुत हुने भएको छ ।
सचिवालय सदस्य तथा नेकपा बरिष्ठ नेता झलनाथ खनालले सचिवालयको बैठकमा स्थायी समिति बोलाउनुपर्ने एकल एजेन्डा प्रस्तुत हुनसक्ने अनुमान लगाएका छन् । उनी केही दिनदेखि प्रधानमन्त्री ओलीसँग आक्रामक पनि बनेका छन् ।
खासगरी जारी गरिएका दुई अध्यादेश र स्थायी समिति बैठक बोलाउनका निम्ति प्रधानमन्त्री ओलीले रुची नदेखाएको विषयलाई खनालले उठाउँदै आएका छन् ।
खास अर्थमा प्रधानमन्त्री ओलीलाई गलाउनका निम्ति स्थायी समितिको बैठक राख्नुपर्ने अडानमा हस्ताक्षर समेत भएको विवरण बाहिरिएको थियो । २० जना सदस्यले त लिखित रुपमा नै यस्तो माग गरेका थिए तर ओली तत्काल स्थायी समिति भन्दा पनि सचिवालयमा नै सबै विषयको टुंगो लगाउनुपर्ने अडानमा छन् ।
मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा पनि ओलीले सोही विषय अगाडि सारेका थिए । तर प्रचण्डले बहुमत सदस्यले स्थायी समितिको माग गरेका कारण बैठक डाक्ने या नडाक्ने विषयमा ब्रिफिङ गर्न ओलीलाई सुझाव दिएपछि बुधबारका लागि सचिवालयको बैठक तय भएको हो ।
‘स्थायी समिति बस्छ, सचिवालयले त्यो निर्णय गर्नेछ । बहुमतका आधारमा भए पनि निर्णय गरी बाँकी कुरा स्थायी समितिमा हुनेछ’, खनालले भनेका छन्,‘हाल देखिएका कतिपय विवादका विषय समाधानका लागि पनि स्थायी समिति बोलाउनका निम्ति सचिवालय बैठकले निर्णय लिनेछ ।’











प्रतिक्रिया