बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

अमेरिकामा ट्रम्पको टिप्पणीपछि हटलाइन टेलिफोनमा बृद्धि

दैनिक नेपाल २०७७ वैशाख १६ गते ८:३८

न्युयाेर्क, १६ वैशाख । अमेरिकामा किटाणु नाशक रसायन वा इन्जेशनसँग सम्बन्धित हटलाइन टेलिफोनको मात्रा पछिल्ला केही दिनमा बढेका छन् ।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्ता टेलिफोनको मात्रा किन वा कसरी बढ्यो भन्ने ठम्याउन वा आँकलन गर्न नसकेको बताएका छन् । मिसिगन र मेरिल्याण्डका गभर्नरले आइतबार यस्ता टेलिफोनको मात्रा बढ्नुमा राष्ट्रपति ट्रम्प दोषी रहेको आरोप लगाएका थिए ।

ट्रम्पले गएको बिहीबार ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा मानिसलाई ब्याक्टेरिया नाशक रसायनसहितको इन्जेक्सन लगाएमा शरीरमा रहेको कोरोना भाइरस मर्ने टिप्पणी गरेका थिए ।

यस्तै उनले घाममा बस्दा पनि भाइरसको अन्त्य हुने उल्लेख गरेका थिए । ब्याक्टेरिया नासक इन्जेक्सन सम्बन्धी टिप्पणीको चौतर्फी आलोचना भयो ।

स्वयम् डाक्टर तथा उच्च स्वास्थ्य अधिकारीले ट्रम्पको टिप्पणी अति खतरनाक र भ्रमपूर्ण वा पथभ्रष्ट गर्ने खालको रहेका भन्दै खारेज गरेका छन् ।

यसैगरी ब्याक्टेरिया वा जीवाणु नाशक रसायन उत्पादन गर्ने प्रमुख कम्पनीले पनि ट्रम्पको टिप्पणीपछि कडा चेतावनी दिँदै आफ्ना उत्पादन मानव शरीरमा नलगाउन सचेत गराएका थिए ।

चौतर्फी आलोचना भएपछि ट्रम्पले शुक्रबारको ब्रिफिङ्गको क्रममा बिहीबार आफूले गरेको टिप्पणी ‘व्यंग्यात्मक’ रहेको बताएर बच्ने कोशिस गरेका थिए ।

किटाणु नाशक रसायन अति जोखिमयुक्त हुने र कतिपय अवस्थामा यसले विषको काम पनि गर्ने गरेको छ ।

सोमबारको पत्रकार सम्मेलनमा पत्रकारले मेरिल्याण्डमा किटाणु नाशक रसायनसँग सम्बन्धित हटलाइन टेलिफोन बढेको बताएपछि ट्रम्पले भने, ‘म कल्पना पनि गर्न सकिरहेको छैन यस्तो किन भइरहेको छ ।’ बढेका टेलिफोनको जिम्मेवारी लिने वा नलिने भन्ने प्रश्नको जवाफ ट्रम्पले ‘लिन्नँ, मैले त्यसको जिम्मेवारी लिँदै लिन्नँ’ भने ।

ट्रम्पले कोरोना भाइरसको संक्रमण र त्यसको उपचारका विकल्पलाई लिएर लगातार जोखिमपूर्ण टिप्पणी गर्दै आएका छन् । उनले मेलेरिया विरुद्धको औषधि होइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसको पनि उपचार गर्ने बताउँदै आएका थिए ।

तर पछिल्ला दिनमा उनले सो औषधिको कुरा गर्न छोडेका छन् । सो औषधिले कोरोना भाइरसको उपचार गर्ने कुरा वैज्ञानिकले प्रमाणित गरेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित