७ मंसिर २०८३, सोमबार

पूर्वआईजी खनाल, सांसदहरू बस्नेत र श्रेष्ठविरुद्ध अपहरण प्रकरणमा काठमाडौं प्रहरीले उजुरी नलिनुको कारण

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई अपहरण र बन्धक बनाएको भन्ने उजुरीसाथ काठमाडौं प्रहरी परिसर पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, दर्ता बाँकी रहेको जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव, राजेन्द्र महतो आइतबार हिस्स परे ।

पूर्वआईजी सर्वेन्द्र खनाल, नेकपा सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध किटानी जाहेरी लिएर पुगेका उनीहरूलाई प्रहरीले फर्काइदिएको छ । फर्काउनुको मुख्य कारण भने अपहरण भएको जिल्लामा नै उक्त उजुरी दर्ता हुने र सोही प्रक्रियाअनुसार प्रहरी चल्ने जवाफ उनीहरूले पाएका छन् ।

महोत्तरीबाट डा. यादवलाई खनाल, बस्नेत र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको भनेर काठमाडौं ल्याएका थिए । त्यसमाथि डा. यादवको सवारीमा आएको र उनले कानुन कार्यान्वयनको मुख्य जिम्मेवारी पाएका कार्यकारी प्रमुखसँग टेलिफोनमा नै कुरा गरेका कारणले उनी कसरी अपहरणमा परे भन्ने विरोधाभाष प्रश्न यसै बाँकी छ ।

‘खासगरी यो सबै राजनीतिक कुराकानीको विषय रहेका कारणले कानुन कसरी आकर्षित हुन्छ भन्ने एउटा प्रश्न भयो, आकर्षित भएकै खण्डमा काठमाडौं प्रहरीले दर्ता गर्न मिल्ने कि नमिल्ने भन्ने विषय पनि हो’, प्रहरीका एक उच्च अधिकारीले भने,‘राजनीतिक कुराकानीको विषयलाई उचालेर प्रहरीमा उजुरी दर्ता हुने कि नहुने भन्ने अर्को नैतिक प्रश्न पनि हुन्छ ।’