
बारा, १३ वैशाख । मलखाद कालोबजारी गरेको अभियोगमा बारा बिश्रामपुर गाउँपालिका २ स्थित माँ गायत्री मलखाद भण्डार पसलका संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय महेन्द्र साह तेली र ना.६ त ७३६८ नम्बरको ट्रयाक्टरका चालक बस्ने २८ वर्षीय रामबाबु पंडितलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त ट्याक्टरबाट ५० बोरा युरिया मल, डिएपि मल ३० बोरा र सलफेट मल १० बोरा मलखाद तथा ट्याक्टर चालकको साथमा रहेको अतिथि कृषि सहकारी संस्था लिमिटेड प्रसौनी ६ बाराको नाममा मल खरिद गरेको बिल २ थान र माँ गायत्री मलखाद भण्डार प्राइभेट फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी प्रहरीले बरामद गरेको छ ।
उक्त मलखाद साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेड वीरगंजबाट अतिथि कृषि सहकारी संस्था लिमिटेड प्रसौनी बारालाई अनुदानमा प्राप्त भएकोमा कालोबजारी गर्ने उद्देश्यले उक्त सहकारीबाट माँ गायत्री मलखाद भण्डारका संचालक महेन्द्रलाई बिक्री गरेको खुल्न आएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनिबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।















प्रतिक्रिया