काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सांसद अपहरण प्रकरणमा मुछिएका सबैलाई कारबाहीको माग गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरण प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
‘लाल झण्डा ओढ्दैमा सबैलाई माफी हुने कुरा गर्नु हुँदैन’, उनले भने, ‘पार्टी फुटाउन सांसद अपहरण प्रकरणका कुरा आएका छन् । त्यसको छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्छ ।’
वरिष्ठ नेता पौडेललाई प्रतिनिधि सभा निर्वाचनमा पराजित गरेका किसान श्रेष्ठ पनि समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको छ ।
श्रेष्ठसँगै नेकपाका अर्का सांसद महेश बस्नेत र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पनि डा.यादवलाई अपहरण गरेको आरोप लागेको छ ।
संविधान र लोकतन्त्रमाथी प्रहार गर्ने अध्यादेश ल्याएर प्रधानमन्त्री केपी ओलीले आफ्नो असली रुप देखाएको पौडेलले टिप्पणी गरेका छन् ।
अध्यादेशको प्रकृति र त्यसपछिको क्रियाकलाप हेर्दा प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानलाई निमोठ्न खोजेको प्रष्ट भएको पौडेलको आरोप छ ।
प्रधानमन्त्री ओलीले अक्ष्यम्य अपराध गरेको भन्दै वरिष्ठ नेता पौडेलले अध्यादेश फिर्ता हुँदैमा यो काण्ड अन्त्य भएको मान्न नमिल्ने तर्क गरेका छन् ।
‘अध्यादेश फिर्ता लिएर मात्रै हुदैन, यससँगै जोडिएका अपराधिक प्रबृत्तिको अन्त्य हुनुपर्छ’, उनले भने, ‘ती पात्रहरूलाई दण्डीत गर्नुपर्दछ ।’
सर्वत्र विरोधपछि प्रधानमन्त्री ओलीले घुँडा टेक्न बाध्य भएपनि अझै सुध्रिने मानसिकता भने नदेखिएको उनले बताए ।
‘मैले त राम्रो मनासयले नै ल्याएको थिए, तर सर्वत्र विरोध भएकाले फिर्ता गरेको हुँ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँले गल्ती महसुस नगरेको प्रष्ट हुन्छ’, पौडेलले भने ।
प्रधानमन्त्री ओली र आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाबीचमा भएको कुराकानीका बारेमा पौडेलले अनभिज्ञता प्रकट गरेका छन् ।











प्रतिक्रिया