२ कार्तिक २०८३, सोमबार

पत्रकार प्रियासनको नेतृत्वमा दुईसय तीस घरमा राहत सहयोग पुग्यो

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, १२ वैशाख । कोरोनाका कारण लकडाउन भएपछि दैनिक ज्यालामज्दुरी गरेर खाने वर्ग खाद्यान्नको चरम संकटमा परेपछि पत्रकार सविन प्रियासनको नेतृत्वमा दुईसय तीस घरपरिवारलाई राहत सहयोग गरिएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष समेत रहेका प्रियासनको नेतृत्वमा घोराही उपमहानगरपालिका वडा नम्वर १३ को दुई वटा दलित बस्ती अनि घोराही १४ र १५ मा बसोबास गर्ने ५० घरमा राहत सहयोग वितरण गरिएको हो ।

दलित बस्ती जहाँ बादी समुदायको बाहुल्यता छ, ती बस्तीहरुमा खानको चरम समस्या छ भन्ने समाचार सार्वजनिक भएपछि राहत संकलनको नेतृत्व गर्नुभएका प्रियासनले घोराही–१३ स्थित शुभ बिहानी टोलका ९० घरपरिवारलाई एकएक बोरा चामल, दाल, तेल, नून, स्वायबडि अनि केही स्वास्थ्य सामग्री समेत सहयोग गरेका छन् ।

यसैगरी घोराही–१३ को दुर्गा भवानी टोलका ८० घरपरिवारलाई एकएक बोरा चामल, दाल, नून, तेल, स्वायबडि वितरण गरिएको छ । वडा सदस्य केशव गिरीको रोहबर, टोल विकास संस्थाका पदाधिकारी एवं सुरक्षाकर्मीहरुको उपस्थितिमा राहत वितरण कार्यहरु सम्पन्न भएका छन् ।

दैनिक ज्यालामज्दुरी गरी खाने वर्ग समुदायमा लकडाउनका कारण खाद्यान्नमा समस्या परेको समयमा पत्रकार प्रियासनले ठूलो परिमाणमा खाद्यान्न सहयोग गरेर ठूलो गुण लगाएको वडा सदस्य केशव गिरीको भनाइ छ ।

सरकारले रात वितरण कार्यमा एकरुपता ल्याउनका लागि एकद्धार प्रणालि अन्तगर्त राहत दिईरहेकाले प्रियासनले स्थानीय सरकारकै रोहबरमा व्यवस्थित तरिकाले राहत वितरण गरेका थिए । राहत पाएपछि टोलबासीहरुमा खुशी छाएको छ ।

‘भोकभोकै मर्ने अवस्था थियो, प्रियासन सरले हामी सबैको भोको पेट भर्नुभयो’, दुर्गाभवानी टोलकी अध्यक्ष रञ्जीता बादी थप्नुहुन्छ, ‘हाम्रो लागि यो राहतसहयोग बरदान बनेको छ ।’

यसैगरी प्रियासनले घोराही १४ र १५ मा विभिन्न टोलमा बस्ने समस्यामा परेका मज्दुर तथा विद्यार्थीहरु गरी ५० घरपरिवारलाई चामल, दाल, नून, तेल, चिउरा, स्वायाबडि सहयोग वितरण गरेका छन् ।

प्रियासनको नेतृत्वमा जिल्लाका करिव ५० जति सञ्चारकर्मी र सञ्चारमाध्यममा कार्यरत समस्यामा परेकाहरुलाई पनि राहत वितरण गर्ने काम लकडाउन अवधिमा भएको प्रियासनको भनाइ छ ।