काठमाडौं, १२ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मणि थापाले प्रधानमन्त्री केपी ओलीको मनोगत निर्णयले देशको परिस्थिति जटिल अवस्थामा जान थालेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले शीर्ष तहमा रहेका व्यक्तिले नेपालको कम्युनिष्ट आन्दोलनलाई नै स्खलित बनाउने गरी अध्यादेश जारी गरेको बताए । उनले पार्टीको महत्वपूर्ण निकाय केन्द्रीय सचिवालय समेत अनिर्णयको बन्दी बनेको बताए ।
नेकपाका नेता थापाले सचिवालय अनिर्णयको बन्दी बन्दा सरकार बेलगाम भएको बताए । जटिल परिस्थितिलाई साम्य बनाउनका लागि पार्टीको स्थायी समितिको बैठक बोलाउन आग्रह गरिएको थापाले बताएका छन् ।
उनले प्रधामन्त्री ओलीले ल्याएका दुई वटा अध्यादेशले देशभरि सिर्जना गरेको विवादका विषयमा अहिले केन्द्रीय कमिटीको बैठक बोलाउन सम्भव नभएकाले तत्काल स्थायी समितिले निर्णय लिन आवस्यक भएको बताए ।
नेता थापाले अध्यादेश फिर्ता हुनपर्छ भन्ने आम नेता तथा कार्यकर्ताको माग रहेको बताउँदै अध्यादेश फिर्ता नलिए नेपालको राजनीतिमा यसले विध्वंस ल्याउने चेतावनी दिए । उनले अध्यादेशकै कारण नेपालको इतिहासले नयाँ मोड आउने बताए ।
प्रधानमन्त्री ओलीको बेमौसमी बाजाले नेपाल अराजकतातिर जाने र यसले कसैका लागि फाइदा नगर्ने नेकपाका नेता थापाले बताएका छन् ।
‘प्रधानमन्त्री ओलीले मान्नुपर्छ । उहाँले मान्नुभएन भने धेरै असहज परिस्थिति आउन सक्छ’, उनले भने, ‘अनौठा राजनीतिक घटनाहरू हुनसक्छन । हाम्रो पार्टी मात्रै यो भूलबाट बचाउन सकिदैन ।’
‘दल विभाजको आवस्यकता महसुस गरेर आयो । पार्टीको एकताको आधारहरू खजी गर्दैमा केहि गल्ती भएका थिए’, उनले भने, ‘त्यसैले यस्तो अध्यादेश आयो ।’
उनले पार्टी एकीकरणका आधारहरूको खोजी गर्दैमा केहि गल्ती भएको र त्योमध्ये प्रधानमन्त्रीले अहिले अर्को महागल्ती गरेको बताएका छन् ।
यो प्रकरणले नेपालको कम्युनिष्ट आन्दोलनमा जोखिममा परेको भन्दै नेता थापाले उत्कृष्ट अवसर प्रधानमन्त्रीले गुमाएको टिप्पणी गरेका छन् ।
उनले प्रधामन्त्री ओलीले कम्युनिष्ट आन्दोलनलाई स्खलित पारेको सचिवालयमा भएका सबै नेताहरू आकासतिर मात्रै हेरिहेको बताएका छन् ।











प्रतिक्रिया