
काठमाडौँ, ९ वैशाख । हालसम्म नेपालमा करिब ३७ हजारको कोरोना संक्रमण आशंकामा परीक्षण गरिएको छ ।
जसमध्ये पीसीआर विधिबाट ८ हजार ७६३ जनाको नमुना संकलन गरेर परीक्षण गरिएको तथा आरडीटीबाट २७ हजार ९५६ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा ३ सय ३३ जनाको कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरिएको बताए ।
“आज देशैभरका क्वारेन्टाइनमा ७ हजार ६७ जना रहेका छन्,” उनले भने, “देशैभरका अस्पतालको आइसोलेसनमा १०७ जना रहेका छन् जसमा काठमाडौं उपत्यकमा अस्पतालमा ६ जना र उपत्यका बाहिर १०१ जना उपचाररत रहेका छन् ।”
त्यस्तै, यही चैत ३० मा वीरगन्जमा कोरोना संक्रमण देखिएको पुरुषको सम्पर्कमा रहेका २ सय २१ जनाको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ भने आरडीटी परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली उदयपुर र वीरगन्जमा ट्रेसिङ र टेस्टिङ दुवै गर्न गइसकेको सकेको छ ।
हालसम्म उदयपुरमा ३ सय २० जनाको पीसीआर परीक्षण गरिएको छ । धरान तथा विराटनगरमा उनीहरुको परीक्षण गरिएको छ ।
मन्त्रालयले आफ्नो आस्थाअनुसार घरमै पूजा अर्चना गर्न सबैमा अनुरोध पनि गरेको छ ।
मन्त्रालयले जारी गरेको मोबाइल एप हाम्रो स्वास्थ्यमा गत २४ घण्टामा ४ जना रेडमा जोनमा परेका छन् भने हालसम्म २ सय ६७ जना रेड जोनमा परेका प्रवक्ता देवकोटाले जनाए ।















प्रतिक्रिया