काठमाडाैं, ९ वैशाख । नेपालमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन् । उनीहरुमा सामान्य किसिमको लक्षणमात्र देखिएको, आत्मबल बलियो भएको तथा उपचारको व्यवस्था राम्रो भएको बताइएको छ ।
कतिपयले नेपालको हावापानी र मानिसमा प्रतिरक्षा प्रणाली बलियो भएकोले पनि निको हुने गरेको दाबी गरेका छन् । तर कोरोना सङ्क्रमणको महामारी फैलिएका देशहरुमा पनि निको हुने क्रम उच्च छ ।
कतिपयमा सामान्य लक्षणमात्र देखिँदा अस्पताल नजाने, कतिपय देशले निको भएकाहरुको तथ्याङ्क अध्यावधिक नगर्नेजस्ता कारणले कति मानिस कोरोनाबाट निको भए भन्ने यकिन गर्न कठिन हुन्छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले गणितको प्रयोग गरेर तयार गरेको नमुना अनुसार ९९ देखि ९९ दशमलव ५५ प्रतिशत मानिस निको हुने गरेको अनुमान छ ।
कोरोनाबारेको तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डोमिटरका अनुसार २४ लाखभन्दा धेरै सङ्क्रमितमध्ये ६ लाखभन्दा धेरै मानिस निको भएका छन् । तर यो तथ्याङ्क पहिचान भएकाहरुको हो । थुप्रै बिरामी सामान्य लक्षणमात्र देखिएर अस्पताल नगइकनै निको हुने गरेको जोन्स हप्किन्स विश्वविद्यालयको अध्ययनले देखाएको छ ।
कोरोना सङ्क्रमण भएका व्यक्ति औसतमा दुई हप्तामा निको हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । चिनियाँ तथ्याङ्कका आधारमा विश्व स्वास्थ्य सङ्गठनले सामान्य लक्षण भएका बिरामीहरू छिटो र पूर्ण निको हुनसक्ने बताएको हो । ज्वरो एक हप्तामा ठिक हुनसक्छ भने खोकी केही थप समय रहने सङ्गठनले जनाएको छ ।
कोरोनाका धेरैजसो बिरामीलाई खोकी, ज्वरो, जीउ दुख्ने, थकाइ लाग्ने, घाँटी तथा टाउको दुख्ने जस्ता मुख्य लक्षणमात्र देखा पर्छन् । सुरुमा सुख्खा खोकी र पछि खकारसहितको खोकी पनि लाग्ने गरेको सङ्गठनले जनाएको छ । यी लक्षणलाई आराम, प्रशस्त पानी पिउने तथा दुखाइ कम गर्न प्यारासिटामोलको प्रयोग गर्ने गरे पुग्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
तर कतिपयमा भने रोग निकै गम्भीर बन्न सक्छ । सङ्क्रमण भएको सातदेखि १० दिनमा यस्तो हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सास फेर्न गाह्रो हुन थाल्ने अनि फोक्सो सुन्निएर जटिलता आउन सक्छ ।
केही मानिसलाई अक्सिजनका लागि अस्पतालमा राख्नुपर्ने हुनसक्ने र यस्तो समस्याबाट निको हुन दुईदेखि आठ हप्ता लाग्न सक्ने चिनियाँ तथ्याङ्कले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनको अनुमानमा प्रत्येक २० जनामध्ये एक जनालाई सघन उपचार कक्ष (आईसीयू) कक्षको उपचारको खाँचो पर्न सक्छ ।















प्रतिक्रिया