२ कार्तिक २०८३, सोमबार

नेपालमा हालसम्म साढे २९ हजारको कोरोना परीक्षण, ३१ संक्रमित, ४ घर फर्के

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । नेपालमा सातै प्रदेशमा हालसम्म दुवै विधिबाट जम्मा २९ हजार ५ सय ६७ जनाको कोरोना परीक्षण भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर विधिमा आठ हजार ८१ र आरडीटीमा २१ हजार ४ सय ४६ जनाको स्वास्थ्य परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

नियमित पत्रकार सम्मलेनमार्फत उनले गत २४ घण्टामा कोराना भाइरसको संक्रमणको आशंकामा २ हजार १ सय ६८ जना नयाँ नमुना परीक्षण गरिएको जानकारी दिए ।

“आइतबारसम्म देशैभरमा कोरोना भाइरसको आशंकामा अस्पतालको आइसोलेसनमा उपचाररत १०३ सय जना रहेका छन् भने काठमाडौं उपत्यककामा ५ जना र बाहिर ९८ जना छन्,” उनले भने, “गत २४ घण्टामा विदेशबाट आएका वा सम्भावित कोरोना संक्रमित हुनसक्ने वा खोकी ज्वरो देखिएका ६ जना रेड जोनमा परेका छन् भने हालसम्म रेड जोनमा पुग्नेको संख्या २६० पुगेको छ ।”

त्यस्तै, देशैभरबाट ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमित ३१ पुगेका छन् । उनीहरुमध्ये ४ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै, हाल उपचाररत टेकु अस्पतालमा १ जना, वीरगन्जको नारायणी अस्पतालमा ४, भरतपुर अस्पतालमा २, धवलागिरि अस्पतालमा १, पाटन अस्पतालमा २ र कोसी अस्पतालमा १३ जना अस्पतालको आइसोलेसनमा रहेका छन् । ती २७ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका जारी गरेको मोबाइल एप १११५ र ११३३ मा २ हजार २४१ जनाकोकोरोनासम्बन्धी आएको गुनासो स्वास्थ्यकर्मीहरूले सम्बोधन गरेको समेत बताइएको छ ।