२ कार्तिक २०८३, सोमबार

लकडाउनको उल्लंघन बढेपछि भैरहवामा सेना परिचालन

17.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल

भैरहवा, ४ वैशाख । लकडाउनको उल्लंघन गर्ने घटना बढेपछि भैरहवामा नेपाली सेना परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार प्रहरीको अनुरोध र कारवाहीलाई स्थानीय बासिन्दाले अटेर गर्दै लकडाउन उल्लंघन गरेपछि सेनाको परिचालन गरिएको हो ।

बिहीबार बिहानैदेखि सेनाले शहरको मुख्य बजार क्षेत्रमा गएर पसल बन्द गर्न आदेश दिएको थियो । साथै शहरका मुख्य सडक र चौकभरि सेनाको गस्ती भइरहेको छ ।

भैरहवाको बुद्धचोक, देवकोटा चोक, मिलनचोक लगायत क्षेत्रमा लकडाउनको समयमा अवज्ञा बढि हुने गरेको पाइएको छ । बजारमा पुग्नेहरुले सामाजिक दूरी समेत कायम गर्दैनन् ।

दिनभर सुनसान हुने भैरहवामा बिहान–साँझ भने निकै चहलपहल बढेको छ । भैरहवाको गल्लामण्डी, हनुमान मन्दिर, शान्तिनगर, खजुरीया, भैरहवा गाउँ, डाँडागाउँ, बिपीपथ, उदयपुर, गोलीगढ लगायतका मुख्य स्थानमा लकडाउनको ठाडो उल्लंघन हुँदै आएको छ ।

नेपाल प्रहरीले बारम्बार माइकिङ गरेर पसल नखोल्न बारम्बार अनुरोध गर्दा पनि अटेर गरेपछि सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना परिचालन गरिएको बताइएको छ ।

भैरहवा भारतीय सहर सुनौलीसँग जोडिएको छ । भारतीय नागरिक पनि नेपाल प्रवेश गर्न सक्ने भन्दै सशस्त्र प्रहरी बलले सीमामा थप सुरक्षा तैनाथी बढाएको छ ।

सीमावर्ती भारतीय क्षेत्रमा कोरोनाको संक्रमण बढेपछि भारतीयहरु विभिन्न बहानामा नेपाल प्रवेश गर्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

लकडाउन उल्लंघन गरी पसल खोल्ने तथा बिनाकाम सडकमा निस्कने क्रम बढेपछि सेनालाई पनि गस्ती तथा चेकजाँचमा खटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका पन्थले भने, ‘सेनाको सुरक्षा गस्ती बढाइएको छ । आवश्यकताअनुसार नेपाल प्रहरीसँगको समन्वयमा चेकजाँच पनि हुन्छ ।’

सेना नै सडक चेकजाँचमा आएपछि भैरहवामा लकडाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ । केही दिनयता नेपाल प्रहरीको सुरक्षा तैनाथी बढेको भए पनि प्रभावकारी हुन सकेको थिएन ।

सेनाले सरकारले निर्दिष्ट गरेका सवारीसाधन एम्बुलेन्स, सुरक्षाका गाडीहरु, खाद्यान्न तथा तरकारी बोकेका गाडी, फोहोर उठाउने गाडी, दूध डेरीका गाडी बाहेक अन्यलाई कडाइका साथ रोक्न सुरु गरेको छ ।

नेपाल प्रहरीलाई नटेरी लकडाउनको समयमा पनि साना सवारीसाधन लिएर मान्छे ओहोरदोहोर गर्ने क्रम बढेपछि सेनाको सुरक्षा चेकजाँच र गस्ती बढाइएको सुरक्षा अधिकारीहरुले बताएका छन्। नेपाली सेनाको गस्ती टोलीले भैरहवाका मुख्य–मुख्य चोकहरुमा नियमित गस्ती गर्ने बताइएको छ ।