२ कार्तिक २०८३, सोमबार

कोरोनाविरुद्ध एकजुट भएर सबै लाग्नुपर्छ : मुख्यमन्त्री गुरुङ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बागलुङ, २८ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धौलागिरि अञ्चल अस्पताल बागलुङको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नभयो ।

निरीक्षणका क्रममा उहाँले कोरोना भाइरस सङ्क्रमितको उपचारको अवस्था, प्रदान गर्ने सेवा सुविधा, व्यवस्थापकीय क्षमता र अस्पतालका समस्याबारे जानकारी लिनुभयो ।

अस्पतालमा दुई सङ्क्रमितले उपचार गराइरहेका छन् । मुख्यमन्त्री गुरुङले कोरोना भाइरसविरुद्ध एकजुट भएर सबै लाग्नुपर्ने आवश्यकता औल्याउँदै सङ्क्रमितको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई प्रशासनलाई निर्देशन दिनुभयो ।

“प्रदेश सरकारले आवश्यक स्रोत र साधनको व्यवस्था गरेको छ,” उहाँले भन्नुभयो, “अस्पतालले बिरामीको उपचार र कोरोना रोकथामका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ ।”

मुख्यमन्त्री गुरुङले उपचारका क्रममा भएका जटिलता तथा आवश्यक उपकरणका विषयमा प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै आवश्यक उपकरण तथा दरबन्दी मिलानका लागि गृहकार्य भइरहेको बताउनुभयो ।

प्रदेश सरकारले धौलागिरि अस्पताललाई अत्यन्त महत्त्व दिएर सहयोग गरिरहेको उल्लेख गर्दै उनले सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष केबी राना, मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी. पोख्रेल, फिजिसियन डा. प्रदीप श्रेष्ठले सङ्क्रमित बिरामीबारे जानकारी गराउँदै अस्पतालले भोगिरहेको समस्या र चुनौतीबारे मुख्यमन्त्री गुरुङको ध्यानार्कषण गराउनुभयो ।

मुख्यमन्त्री गुरुङले चार शय्याको आइसोलेसन कक्ष विस्तार गर्न अस्पताललाई आग्रह गर्नभयो । अहिले अस्पतालको आइसोलेसन वार्डमा एक युवती र एक वृद्धा सङ्क्रमितको उपचार भइरहेको छ । हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले कोरोना उपचारका लागि सो अस्पताललाई एक भेन्टिलेटर प्रदान गरिसकेको छ भने सघन उपचार कक्ष निर्माणका लागि बजेट विनियोजन गर्ने जनाएको छ । –रासस