शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अमेरिकालाई काेराेना भाइरसमाथि राजनीति नगर्न चेतावनी

दैनिक नेपाल २०७६ चैत २७ गते ७:४५

लण्डन, २७ चैत । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनोमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोभिड १९ भाइरसमाथि राजनीति नगर्न आग्रह गरेका छन् । उनले यो वेला एकता कायम गर्न पनि आग्रह गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यसअघि डब्लुएचओलाई दिने बजेट कटौतीका लागि छलफल गर्न घोषणा गरेका थिए। ट्रम्पले गत मंगलबार कोभिड १९ सम्बन्धि दैनिक प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओले चीन केन्द्रित अभियान चलाएको आरोप लगाएका थिए ।

डब्लुएचओले कोभिड १९ संक्रमितहरुबारे वास्तविक तथ्याङ्क बाहिर ल्याउन नसकेको पनि जनाएका थिए । चीनले तथ्याङ्क लुकाइरहेको उनको आरोप थियो । गत मंगलबार ट्विटसमेत गरेर ट्रम्पले डब्लुएचओ चीन केन्द्रित भएको भन्दै उनीहरुले चीनसँगको सम्बन्ध खुला गर्न दिएको सुझाव अस्वीकार गर्ने बताएका थिए ।

डब्लुएचओ प्रमुख घेब्रेएससले आफूहरुले हरेक देशलाई हेरिरहेको र नजिक रहेर काम गरेको बताएका छन् । आफूहरू राजनीति र रंगभेदबाट टाढा रहेको पनि उनको दाबी छ ।

बुधबारको प्रेस ब्रिफिङमा घेब्रेएससले भने, “यदि धेरैभन्दा धेरै लास ब्यागमा राख्न नचाहने हो भने कोभिड १९ माथिको राजनीति तुरुन्त रोकिनुपर्छ, भाइरसमाथिको राजनीति क्वारेन्टिनमा पठाउनुपर्छ ।” चीन र अमेरिकाका नेतृत्वले यो महामारीमा एकता प्रदर्शन गर्नुपर्ने पनि उनले बताए ।

यसअघि राष्ट्रपति ट्रम्पले कोभिड १९ लाई ‘चाइनिज भाइरस’ बताउने गरेका थिए । त्यति वेलाम पनि डब्लुएचओ महानिर्देशक घेब्रेएससले भाइरसबारे रंगभेदी विचार नराख्न आग्रह गरेका थिए। पछि ट्रम्प र चिनिया राष्ट्रपति सी चीन फिङबीच फोनवार्ता भएपछि उनले यस्तो भन्न छाडेका छन् ।

प्रतिक्रिया
सम्बन्धित