८ मंसिर २०८३, मंगलबार

मुख्यमन्त्रीकाे कार्यालय छेउका स्थानीयहरू राहतबाट बन्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २६ चैत । गण्डकी प्रदेश सरकारले अतिविपन्न र दैनिक ज्यालादारी गर्ने श्रमिकलाई राहत दिन स्थानीय तहलाई रकम पठाएको जनाएकाे छ ।

मुख्यमन्त्रीको कार्यालय छेवैका मजदुर भने राहत पाउनबाट बञ्चित भएका छन् । सुत्केरी र अपांगले समेत राहत पाएका छैनन् ।

पोखराको ७ नम्बर वडामा छ, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय । कार्यालय अघिकै मिलनपार्क टोलमा बस्ने श्रमिकले राहत नपाएको गुनासो गरेका छन् ।

पोखरा महानगरपालिकाले बाँड्ने राहत आफ्नो हातसम्म नआइपुगेको उनीहरुले गुनासो गरे ।

वडा कार्यालयले १७ टोल विकास संस्थामार्फत राहत वितरणको लागि नाम संकलन गरेको थियो । नाम संकलन गरिएका मध्ये निकै न्युनले मात्रै राहत पाएका हुन् ।

रत्नचोक टोल विकास संस्थाले १ सय १७ जना मजदुरको नाम पठाएपनि मंगलबार २२ परिवारले मात्रै राहत पाएका छन् ।

चार दिनकी सुत्केरी छोरीलाई छोडेर राहत लिन गएकी सुनीता श्रेष्ठ रित्तो हात फर्किइन् । सिन्धुलीबाट आएर रत्नचोक मिलनपार्कमा भाडामा बस्दै आएको उनको परिवार ज्याला मजदुरी गरेर पालिन्छ ।

लकडाउनकै बेला छोरी अनिशा श्रेष्ठ सुत्केरी भएपछि झन् चिन्ता थपिएको छ । घरमा मुस्किलले चार पाथी चामल भएको उनले सुनाइन् ।