शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मृदुभाषी उपप्रधानमन्त्री पोखरेल : उमेर ६७, कर्म तन्नेरी

विनोद ढकाल २०७६ चैत २५ गते १०:४३

– विनोद ढकाल/दैनिक नेपाल

काठमाडौं, २५ चैत । कोरोना भाइरसविरुद्धको सरकारी उच्चस्तरीय समितिका संयोजकको जिम्मेवारीमा काम गरिरहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल मंगलबारबाट ६६ बर्ष पूरा गरी ६७ को यात्रामा छन् ।

७ अप्रिल सन् १९५४ मा ओखलढुंगामा उनको जन्म भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको राजनीतिमा अब्बल देखिएका पोखरेल तत्कालिन एमालेको महासचिव पदमा दुई पटक निर्वाचित भए र संगठनलाई प्रभावकारी ढंगले चलाए ।

उपप्रधानमन्त्री पोखरेलसँग निकट नेकपा नेता आनन्द पोखरेलका अनुसार पोखरेल निर्णय गर्नसक्ने, अडानमा रहन सक्ने अदभूत क्षमता भएका नेता हुन् । त्यसैले पनि नेपाल कम्युनिस्ट पार्टीको स्कुल विभागको जिम्मेवारीमा उनै छन् । नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तराधिकारीका रुपमा पनि हेरिन्छ । सरकारको पोर्टफोलियोमा प्रधानमन्त्री ओली पछि रहेका छन् पोखरेल । उनी ६७ बर्षको उमेरयोगमा रहे पनि राजनीतिक कर्म भने तन्नेरी जसरी नै गरिरहेका छन् । निर्णय गर्दा धेरै विचार गर्ने र अडानमा कायम राख्ने पोखरेललाई जनताको बहुदलीय जनवादको ऐना पनि मानिन्छ ।

मृदुभाषी पोखरेल हालसहित तीन पटक नेपाल सरकारको मन्त्री पदमा रहे । सन् २००४ मा उद्योग वाणिज्य र आपूर्तिमन्त्री भएका उनी २०१८ मा उपप्रधानमन्त्री सहित विदेश मन्त्री भए । २०१८ मा भने उनी उपप्रधानसहित रक्षामन्त्रीको जिम्मेवारीमा नियुक्त भए, हाल सोही पदमा छन् ।

५ दशकदेखि राजनीतिमा सक्रिय रहेका उनी त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका नेता हुन् । काठमाडौं ५ बाट प्रतिनिधि सभामा निर्वाचित पोखरेल ७० को दशकमा नेपाल कम्युनिस्ट पार्टीको राजनीतिमा प्रवेश गरेका थिए । उनी माले हुँदै केन्द्रीय कमिटीमा रहेका थिए । नेपालको शान्ति प्रक्रियामा शान्ति समितिमा समेत भूमिका निर्वाह गरेका पोखरेलबारे आनन्द पोखरेलको विश्लेषण छ-  ‘उहाँ कुनै पनि काम समयमा सक्किनुपर्छ र धैर्यताका साथ निर्णय लिनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।’

कसैको कुरा सुन्नेमात्र, भिडमा रमाउने भन्दा पनि सबै चिजको सही विश्लेषण गरी सही निर्णयमा पुग्न सक्ने क्षमता र दक्षता पोखरेलमा रहेको बताइन्छ ।

नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको राजनीतिक सल्लाहकारका रुपमा सरकारमा रहेर पोखरेलले काम गरेका कारण पनि तत्कालिन एमाले सरकारका काम स्मरणीय रहे । अधिकारीले उनको सल्लाहमा प्रभावकारी काम गरेका थिए ।

नेकपाको पूर्वएमालेभित्र पोखरेलको बलियो पकड रहेको छ । उनलाई प्रधानमन्त्री तथा अध्यक्ष ओलीको पार्टीभित्रको उत्तराधिकारी मान्छन् नेता कार्यकर्ता । तत्कालिन एमाले होस् वा अहिले नेकपा उनी कहिल्यै पनि पार्टीभित्रको प्रतिपक्षी भएर बसेनन् ।

तत्कालिन अध्यक्ष अधिकारी र तत्कालिन एमाले महासचिव तथा नेकपा नेता माधवकुमार नेपालको विश्वासपात्र रहेका उनी तत्कालिन एमालेको आठौं महाधिवेशनमा झलनाथ खनालको पक्षमा उभिँदा महाधिवेशनमा नेतृत्व जिताए भने आफू महासचिवमा निर्वाचित भए ।

नवौं महाधिवेशनमा ओलीलाई अध्यक्षमा निर्वाचित गराउन पोखरेलको भूमिका बलियो हुनुको प्रमाण उनी पुनः महासचिव निर्वाचित हुनु पनि देखिएको थियो ।

उनले माघ १९ नामको पुस्तक र पूर्वका रातो तारा नाममा शहिद  रत्नबहादुर बान्तवाको राजनीतिक जीवनका विषयमा पुस्तक प्रकाशन गरेका थिए ।

दुई सन्तानका पिता रहेका पोखरेलले मिरा धोँजुसँग लगनगाठो कसेका थिए । उनी नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्छन् ।

पोखरेल पत्नी धोँजु पनि प्रजातन्त्र र नागरिक स्वतन्त्रताका लागि राजनीतिक अभियानमा सक्रिय रहेका कारण तत्कालिन पञ्चायत शासनले शिक्षाको जागिर खोसेको थियो । धोँजु तत्कालिन संविधान सभा सदस्यका रुपमा काम गरेकी नेत्री हुन् ।

प्रतिक्रिया
सम्बन्धित