बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

कोरोनाविरुद्ध लडाईको नेतृत्वमा उपप्रधानमन्त्री पोखरेलले काँध थाप्नुका कारण

दैनिक नेपाल २०७६ चैत २४ गते ८:०६

काठमाडौं, २४ फागुन । कोरोना भाइरस रोकथाम उच्च स्तरीय समितिको सिफारिसमा सरकारले मुलुकभर गरेकोे लक डाउनको तेस्रो साता पुगेको छ ।

हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको विवरण आएका छन् । कतिपयलाई क्वारेन्टाइनमा राखेर परिक्षणका क्रम जारी छन् । अझ प्रभावकारी उपचारका निम्ति कोरोनाविरुद्धका स्वास्थ्योपचार सामग्री खरिदको प्रक्रिया नेपाली सेनाले अगाडि बढाएको छ ।

स्वास्थ्यका कारण खुलेर सक्रिय हुन नपाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई दिएका छन् । जसले विश्वभर तिव्रताका साथ फैलिएको कोरोना भाइरसको प्रभावलाई नेपालमा अधिक गतिमा बढ्न नदिन समय समयमा प्रभावकारी निर्णय गर्दै आएका छन् ।

नेकपा सरकारका बेलामा आई परेको यो विश्व महामारीविरुद्धको लडाईमा पोखरेलले सर्वसाधारणदेखि अनेक क्षेत्रका व्यक्तिको स्वस्थ्यताको नेतृत्वका लागि काँध थापेका छन् । प्रधानमन्त्री ओलीले दिएको जिम्मेवारीबाट उनी नपन्छिनुको कारण, नेकपा सरकारलाई महामारीविरुद्ध लडेर सफल बनाउनु पनि हो ।

पोखरेल सचिवालयका एक जना सदस्यका अनुसार विश्व नै आक्रान्त बनिरहेको अवस्थामा विचार पुराएर नै लक डाउनलगायतका विविध निर्णय भएकाले नेपाललाई उच्च जोखिमसँग लड्न तयार बनाउने निर्णय उपप्रधानमन्त्रीले गरेका हुन् । अहिले देखिएको यो परिस्थितिभन्दा भयावह हुन सक्ने दूरदर्शीता भएकैले एक महिना अघि नै उपप्रधानमन्त्रीले कठोर निर्णयमा पुगी प्रदेश र स्थानीय सरकारको समन्वयमा नागरिकको स्वास्थ्य सुरक्षाका विषयमा ठोस निर्णय लिनुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा पनि गरिएको थियो ।

कोरोनाले भारतमा समेत प्रभाव नदेखाएका बेला उपप्रधानमन्त्री पोखरेलले प्रारम्भिक अभिव्यक्तिमा नै नेपाल लक डाउनमा जान सक्ने बताएका थिए । यो जोखिम नियन्त्रणका लागि लक डाउन नै उपयुक्त उपाय हुने समितिको पहिलो बैठकमा नै पोखरेलले छलफल चलाएका थिए, त्यसले केही सातामा निर्णय पाउनासाथ नेपालमा कोरोना प्रभावितको संख्या उच्च दरमा बढ्न नपाएको प्रष्ट देखिएको छ ।

पोखरेल नेतृत्वको समितिले पहिलो चरणमा दुई साताको लक डाउनको घोषणा गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक दिनका लागि जनता कफ्र्यु मात्र घोषणा गरेका थिए । तर नेपालले लक डाउनको घोषणा गरेपछि मोदीले १२ बजे राती तीन साताको लक डाउनको घोषणा गरिदिए, जतिबेला भारतमा कोरोनाका कारण ४ जनाको मृत्यु भइसकेको थियो भने संक्रमितको संख्या ९९ नाघिसकेको थियो ।

स्वास्थ्य मन्त्रालय, नागरिक उड्डयन मन्त्रालयलगायतका सम्बन्धित मन्त्रालयसँग रिपोर्ट मागि सम्भावित जोखिमको मुल्यांकनका आधारमा पोखरेलले समितिका बैठकमा नागरिक सुरक्षाका विषयमा प्रस्ताव लगेको र सोहीअनुसार नै निर्णय हुँदा भारतसँग तीन तिर सीमा जोडिएको नेपाललाई जोखिममुक्त बनाउने प्रयास गरिएको थियो ।

अहिले कतिपय सीमावर्ती क्षेत्रमा नेपालीहरु समस्यामा रहेको भन्ने विषय गम्भिर रहेको र सीमा क्षेत्रमा क्वारेन्टाइन स्थापना गरी चेकजाँचको व्यवस्थामा पनि पोखरेलले खास निर्णय गर्नुपर्ने बताउँदै आएको सरकारका अधिकारीहरु बताउँछन् ।

राजनीति जनताका लागि नै गरिने र जनताको सुरक्षा नै सरकारको दायित्व हुने बुझेका कारणले पोखरेलले सरकारका तर्फबाट यो जोखिमयुक्त समयको जिम्मेवारी हात लिनु भएको हो, सरकारी स्रोतले भन्यो, अन्य मुलुकमा स्वास्थ्य मन्त्रालयले नेतृत्व गरे पनि नेपालमा रक्षा मन्त्री नै, सरकारका दोस्रा तहका मन्त्री नै अघि सर्नु भएको हो ।

सरकारले गरेका कामलाई सकारात्मक हिसाबले व्याख्या नगर्ने मानिसहरु सल्बलाएको विषयलार्इृृ पनि पोखरेलले हेक्का राखेका छन् । यस्तो अवस्थामा नागरिक सुरक्षाका निम्ति एक जुट हुनुपर्ने र विविध कैफियती कुरामा लाग्न नहुने अपिल उनले गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित