८ मंसिर २०८३, मंगलबार

मेयरको समूहद्वारा राहत लिन आएका व्यक्तिलाई कुटपिट

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङजा, २४ चैत । स्याङ्जामा राहत वितरण गर्न गएका स्थानीय सरकारका प्रमुखसहितको टोलीले उल्टै सर्वसाधारणलाई कुटेर फर्किएका छन् ।

चापाकोट नगरपालिकाका नगरप्रमुख शिव गिरीसँगै गएका समूहले वडा नं. ६ का सुमन बिकलाई कुटपिट गरेका हुन् ।

वडा नं ६ को मोहमी गाउँमा गरिएको राहत वितरण प्रकृयामा चित्त नबुझेपछि बिकले आपत्ति जनाएका थिए ।

उनले स्थानीय सरकारको रहात वितरण गर्ने शैलीमाथि प्रश्न गरेका थिए । ‘मैले नराम्रो कुरा गरेको थिइनँ । २५ किलोका एक बोरा चामलले गाउँको ५ परिवारलाई कसरी पुग्छ भनेको थिएँ’, उनले भने, ‘मेयर सा’बसँग आएका युवाहरूले कुटे ।’

कुटपिटबाट उनको ओठमा चोट लागेको छ । राहत वितरणमा अवरोध गर्न आएपछि सम्झाइ बुझाइ मात्र गरिएको दाबी मेयर गिरीले गरेका छन् ।

उनले कसैलाई हात नहालेका बताए । ‘विक भाइले विरोध गरेपछि मसँगै गएका भाइहरुले सम्झाएका मात्र हुन्’, उनले भने, ‘हात चाहिँ हालेका छैनन् ।’ उनले त्यहाँ कुटपिटको घटना नभएको दाबी गरेका छन् ।