बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अवैधानिकरूपमा बसेका नेपालीको उद्धार गर्न एनआरएनएको आग्रह

दैनिक नेपाल २०७६ चैत २३ गते ८:४४

काठमाडौं, २३ चैत । कोभिड–१९ को महामारी विश्वभर फैलिरहँदा गैरआवासीय नेपाली सङ्घले विभिन्न देशमा अवैधानिकरूपमा बसिरहेका र विद्यार्थी भिसामा रहेका नेपालीलाई उद्धार गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको छ ।

हरेक देशमा कोभिड–१९ को असर बढेसँगै सङ्घले वैदेशिक रोजगारीका लागि कामदार भिसामा गएका तर भिसाअवधि सकिएर पनि अवैधानिकरूपमा ती देशमा बसिरहेका, भ्रमण भिसामा गई लकडाउनमा परेका, भ्रमण भिसामा गए पनि कामका लागि अवैधानिकरूपमा बसेकादेखि अध्ययन भिसामा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको हो ।

सङ्घले यसका लागि सरकारसँग समन्वय गर्न गैरआवासीय नेपाली सङ्घ तयार रहेको जनाएको छ । मध्यपूर्वका देशदेखि लिएर युरोप, अमेरिका, अष्ट्रेलियालगायतका देशमा अवैधानिकरूपमा धेरै नेपालीको बसोबास रहेको बताउँदै सङ्घका प्रवक्ता डिबी क्षेत्रीले ती नेपालीको उद्धार जरुरी रहेको बताए ।

उनले अवैधानिकरूपमा रहेका नेपालीलाई सम्बन्धित देशमा रहेको नेपाल सरकारको दूतावास तथा नियोग र त्यहाँ रहेको गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्मा सम्पर्क गर्न पनि आग्रह गरे ।

“यो महामारीबाट हरेक देश जुधिरहेको अवस्था छ । यसले अझ विकराल रूप लिएको खण्डमा ती देशका सरकारले पहिला हेर्ने भनेको त्यहाँका नागरिक हो अनि वैधानिकरूपमा बसेका नै हुन्”, सङ्घका प्रवक्ता क्षेत्रीले भने, “त्यो अवस्थामा अवैधानिकरूपमा बसेकाहरुले ठूलो समस्या झेल्नुपर्ने हुन्छ, त्यसैले पहिलो प्राथमिकता दिएर उहाँहरुलाई नेपाल लैजान हामी आग्रह गर्न चाहन्छौँ ।”

अहिलेको यो अवस्थामा विभिन्न देशका सरकारले आफ्नो देश फर्कन चाहनेलाई सहजरूपमा जान दिने सम्भावना पनि रहेकाले त्यसका लागि पहल गर्न नेपाल सरकारसमक्ष उहाँले आग्रहसमेत गरे ।

कुवेत सरकारले यो सुविधा दिने बताइसकेको छ । यदि यो सुविधा नहुने अवस्थामा अवैधानिकरूपमा रहेका नेपालीले नेपाल फर्कन चाहे भने जरिवाना तिर्नुका साथै कानूनले तोकेको सजाय भोग्नुपर्ने अवस्था हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित