बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

आइतबारदेखि चितवन र बुटवलमा पनि कोरोना परीक्षण हुने

दैनिक नेपाल २०७६ चैत २३ गते ८:२९

काठमाडाैं, २३ चैत । सरकारले आइतबारदेखि चितवन र बुटवलमा पनि कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्ने तयारी गरेको छ ।

यसअघि जनकपुर, धरान, हेटौँडा, पोखरा, धनगढी र सुर्खेतमा परीक्षण सुरु गरेको सरकारले आजदेखि चितवन र बुटवलमा पनि कोरोना परीक्षण गर्ने तयारी गरेको हो ।

योसँगै अझै धेरै जनाको कोरोना परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यसअघि विदेशबाट आएकाहरुमा मात्र कोरोना देखिएको र अब नेपालमै रहेकामा पनि सङ्क्रमण देखिएकोले कोरोना सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको भन्दै थप सजकता अपनाउन अनुरोध गरेका छन् ।

कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले थप सावधानी अपनाउन देवकाेटाकाे सुझाव छ । विशेषगरी विदेशबाट आएकाहरुलाई केही समय परिवारबाट अलग्गै बस्न उनले आग्रह गरे ।

लकडाउनको पालना गर्न पनि सरकारले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले उपत्यकाका तीन वटा अस्पतालमा १५ जना र उपत्यकाबाहिर ५४ जना गरी ६९ जनाको आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा उपचार भइरहेको छ ।

शनिबारसम्ममा १५ सय २१ जनाको कोरोना परीक्षण गरिएकोमा १५ सय १२ जनामा कोरोना नभएको र ९ जनामा कोरोना भएको पाइएको छ । एक जना उपचारपछि निको भएका छन् भने चार जनाको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा, दुई जनाको बागलुङ र दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार चलिरहेको छ ।

शनिबार विभिन्न ठाउँमा गरी अहिलेसम्मकै धेरै दुई सय २९ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित