मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

मोरङमा कांग्रेस नेतामाथि छुरा प्रहार, तामाङ अस्पताल भर्ना

दैनिक नेपाल २०७६ चैत २२ गते ७:३०

विराटनगर, २२ चैत । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ ।

कांग्रेसका पूर्व क्षेत्रीय सदस्य ६५ वर्षीय दिलिप तामाङमाथि शुक्रबार साँझ ७ बजे छुरा प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउन उल्लंघन हुने क्रम बढेपछि स्थानीयस्तरमा तामाङले त्यसलाई रोक्ने काम गरेका थिए ।

डीएसपी गिरीले लकडाउनको समयमा सवारी साधन कुदाउने, हिँडडुल गर्ने क्रम बढेपछि तामाङले सडकमा बाँस तेस्र्याएर त्यसलाई रोक्ने प्रयास गरेका बेला छुरा प्रहार भएको बताए ।

लकडाउनमा बाटो छेकेको विषयलाई लिएर स्थानीय २८ वर्षीय विजय लिम्बूसँग कांग्रेस नेता तामाङको विवाद भएको थियो ।

मादक पदार्थ सेवन गरेका लिम्बूले विवादकै क्रममा छुरा प्रहार गरेर तामाङलाई घाइते बनाएको जानकारी डीएसपी गिरीले दिए ।

छुरा प्रहारबाट तामाङको बायाँ छात्तीमा गहिरो चोट लागेको छ । उनको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था खतरामुक्त रहेको जानकारी चिकित्सकले गराएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने लिम्बूलाई भने भाग्दै गर्दा घटनास्थल नजिकैबाट पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान गर्ने काम भइरहेको डीएसपी गिरीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित