शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मानवजातिले कोरोनाविरुद्धको लडाइँ चाँडै जित्नेछ : राष्ट्रपति भण्डारी

दैनिक नेपाल २०७६ चैत २१ गते २०:००

फाइल तस्वीर

काठमाडौँ, २१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले देशबासीका नाममा शुक्रबार सम्बोधन गर्दै कोभिड–१९ कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदममा साथ दिन आह्वान गरेकी छिन् ।

जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै सरकारले पूरै लकडाउन गरेको र त्यसमा ध्यान दिन र पालना गर्न पनि आग्रह गरेकी छन् ।

विश्वव्यापी महामारीका सम्बन्धमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले हाम्रो संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक रहेकामा जोड दिइन् ।

नेपाल सरकारले चालेका कदम प्रभावकारी भएको भन्दै उनले महामारी आउनै नदिन सबैले साथ दिनुपर्ने बताएकी छन् ।

लकडाउनले दैनिक कार्य गर्न सबैलाई असहज भएको भएपनि उनले यो संकटको घडीमा संयमित हुन अनुरोध गरेकी छन् । ’आआफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ’, सन्देशमा भनिएको छ ।

उनले कोरोनाको संक्रमणबाट बच्न जहाँ भएपनि सतर्कतासहित आफू सुरक्षित रहन पनि आह्वान गरेकी छन् ।

’पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको छ । यसले सम्पूर्ण उद्योगधन्दा र व्यापार व्यवसायलाई नकारात्मक असर पुर्याएको छ । यस परिस्थितिमा दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवी सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको छ । यसको लागि नेपाल सरकारले विभिन्न राहत प्याकेजको घोषणासमेत गरिसकेको छ’, सन्देशमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले अहिले विद्यमान कोरोना भाइरसविरुद्धको लडाइँमा मानवजातिले निकट भविष्यमा नै विजय हासिल गर्ने विश्वास व्यक्त गरिन् ।

उनले यस महामारीविरुद्धको लडाइँमा आआफ्ना तर्फबाट सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई उनले आह्वान गरिन् । त्यस्तै, नेपाललाई यसविरुद्ध लड्न विभिन्न तवरले सहयोग गर्ने छिमेकी राष्ट्रहरुप्रति धन्यवाद ज्ञापन पनि गरिन् ।

त्यस्तै, सबै राष्ट्र एकजुट भए कोरोना संक्रमणलाई नियन्त्रण गर्न सकिने पनि उनको मत थियो । उनले उपचाररत नेपालीको स्वास्थ्य लाभको कामना पनि गरिन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायतको कोरोना नियन्त्रण प्रयासका निम्ती आभार व्यक्त गरिन् ।

अहोरात्र खट्ने चिकित्सक, नर्स, समग्र स्वास्थ्यकर्मीलगायत सम्पूर्ण राष्ट्रसेवकको धैर्यको उच्च सम्मान गर्दै राष्ट्रपति भण्डारीले भनिन् तपाईँहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैँ रहिरहनेछ ।’

प्रतिक्रिया
सम्बन्धित