शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सीमामा अलपत्र सुत्केरीलाई भारतको क्वारेन्टाइनबाट उद्धार

प्रतिक पौडेल २०७६ चैत १९ गते १७:३६

-प्रतिक पौडेल
रुपन्देही, १९ चैत । सीमामा तिन दिनदेखि अलपत्र अवस्थामा रहेकी २२ दिनकी सुत्केरीलाई भारतको नौतनवामा रहेको क्वारेन्टाईनबाट वुधबार उद्धार गरिएको छ ।

विश्वभर फैलिएको कोरोना भाईरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गतहप्ता देखि नेपालमा गरिएको लकडाउनका कारण भारतबाट नेपाल भित्रिने क्रममा करीब ३ सय नेपाली सुनौली नाकामा अलपत्र परेका थिए ।

त्यस मध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ नम्बरकी सुत्केरी अवस्थाकी लक्ष्मी परियार काखमा १९ दिनको नवजात शिशु च्यापेर खुल्ला आकाशमुनी रात गुजारेकी थिईन् ।

उनीसँगै उनका दुई छोरीहरु ३ वर्षिया पुजा, डेढ वर्षीया मुस्कान, उनका पति मनोज परियार, गुल्मीको रेसुंगा नगरपालिका २ की गर्भवती महिला भगवती परियार, उनका २ वर्षीय छोरा निशान्त परियार, श्रीमान शुनिल परियार, विरामी अवस्थामा रहेका अर्घांखांची मालारानी गाउंपालिका ३ का मिन प्रसाद खनाललाई समेत नेपालबाट पठाईएको लु १ च ३७४१ नम्बरको एम्बुलेन्समा नेपाल ल्याईएको हो ।

मंगलबार साँझसम्म नेपाल प्रवेश पाउने आशामा सिमामा चर्को घाममा बसिरहेका उनीहरु नेपाल भारत सरकारको सहमतिमा नाकामा रहेका नागरिक जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने तर सिमा खुल्ला नगर्ने निर्णय गरिएसँगै राती भारतको नौतनवा क्वारेन्टाईनमा व्यवस्थापन गरिएको थियो ।

अरु सामान्य व्यक्तिहरु सरह सुत्केरी तथा गर्भवती महिलाहरुलाई राख्दा उनीहरुलाई निकै असहज भएको थियो ।

भारतको गुजरातबाट नेपाल आएका उनीहरु धेरै दिनको हिँडाई, खुल्ला आकाशमुनीको खाली पेटको सुताईका कारण निकै थकित देखिन्थे ।

नेपाल ल्याईएका उनीहलाई १४ दिनसम्म सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाईनका लागि प्रबन्ध मिलाउने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, प्रमुख जिल्ला अधिकारीको पहलमा नेपाल तथा भारतीय सुरक्षाकर्मीको समन्वयमा सुत्ेकरी महिला सहित अन्य विशेष परिस्थितिका व्यक्तिहरुको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय वेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिए ।

सुत्केरी तथा गर्भवती महिला सिमामा अलपत्र भन्ने विभिन्न संचार माध्यममा समाचार प्रशारण, प्रकाशन भएसँगै सबैको ध्यान गई उद्धारका लागि दवाव श्रृजना गरिएको महिला अधिकारमर्की ज्ञानु पौडेलले जनाईन् ।

यता लकडाउनका कारण भारत प्रवेश नपाएका करीब १ सय भारतीय नागरिकलाई नेपाल तर्फ प्रतिमान नीमा हेल्थ ईन्स्टीच्युटको भवनमा व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित