शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोना भाइरस पछिल्लो अपडेट : विश्वभर ८ लाख ५ हजारभन्दा बढी संक्रमित

दैनिक नेपाल २०७६ चैत १८ गते २०:४५

काठमाडौँ, १८ चैत । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ८ लाख ५ हजार ३ सय ७७ पुगेको छ । वर्ल्ड मिटर्सका अनुसार यसका कारण संसारभर ३९ हजार ४ सय ६९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, विश्व स्वास्थ्य संगठनका अनुसार २०३ देश तथा टापुहरुमा यसको संक्रमण फैलिसकेको छ । विश्वभर महामारीको रुप लिएको कोरोनाबाट संक्रमित भएकामध्ये १ लाख ७२ हजार ४ सय २६ जना पूर्ण रुपमा निको भइसकेका छन् ।

अहिले यसको मृत्युदर प्रति १ मिलियन जनसंख्यामा ५.१ प्रतिशत रहेको छ । मृत्युदर क्रमशः बढ्दै गएको पछिल्लो तथ्यांकले देखाएको छ ।

यसको संक्रमण अमेरिकामा निकै द्रुततर गतिमा फैलिरहेको छ । हालसम्म अमेरिकामा सबैभन्दा बढी १ लाख ६४ हजार ७ सय ४४ जना संक्रमित भइसकेका छन् भने ३ हजार १ सय ६३ जनाको यसका कारण मृत्यु भएको छ ।

उता इटालीमा करिब १ लाख २ हजार संक्रमित छन् भने सबैभन्दा बढी ११ हजार ५ सय ९१ जना मानिसको कोरोना संक्रमणले निधन भइसकेको छ । त्यस्तै, स्पेनमा यही २४ घण्टा ८ सय बढीको मृत्यु भएको थियो ।

त्यहाँ करिब ९५ हजार संक्रमित छन् भने ८ हजार १ सय ८९ जना मृत्यु भएका छन् । यता चीनमा करिब ८२ हजारमा संक्रमण भेटिएको छ भने ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।

गत डिसेम्बरदेखि चीनबाट सुरु भएको नोभल कोरोना भाइरस केही महिना अघिसम्म चीनमा महामारीको रुपमा थियो भने पछिल्लो केही दिनमा चीनमा नयाँ संक्रमणहरु कम देखा परेका छन् ।

यद्यपि अहिले अमेरिका र युरोप कोरोना फैलावटको केन्द्र बनेको छ । जर्मनीमा करिब ६९ हजार संक्रमित छन् भने ६ सय बढीको मृत्यु भएको छ ।

फ्रान्स र इरानमा करिब ४५ हजारमा संक्रमण देखिएको छ । फ्रान्समा ३ हजार २४ जनाको मृत्यु हुँदा यता इरानमा करिब २९ सय जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित