बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

लकडाउनले रुपन्देहीमा ७ लाख कुखुरा बिकेनन्, किसान डुब्ने स्थितिमा

प्रतिक पाैडेल २०७६ चैत १७ गते १६:००

भैरहवा, १७ चैत । कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रण तथा न्युनिकरणका लागि सरकारले ‘लकडाउन’ गरेको छ । मानिसहरु घरभित्रै बसेका छन् । सबै क्षेत्रका व्यक्तिहरुलाई लकडाउनले असर पारेको छ । यस्तै किसानहरुलाई पनि यसले ठूलो असर पारेको छ ।

रुपन्देहीका कुखुरा पालक किसानहरु कुखुरा बिक्री गर्ने बेलामा देश लकडाउनमा गएपछि समस्यामा परेका छन् । किसानहरुले कुखुरालाई खुवाउन न त दाना पाएका छन् न त बेच्नको लागि तयार भएका कुखुरा बेच्न नै पाएका छन् ।

रुपन्देहीको कुखुरा पालन हुने प्रमुख क्षेत्रको रुपमा रहेको मर्चवारस्थित मर्चवारी गाउँपालिका १ का किसान मकसुद खानले १२ हजार कुखुरा तयारी अवस्थामा रहे पनि लकडाउनका कारण बजार सम्म पुग्न नसकेको कारण समस्या आएको बताए । नेपाल सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले गत चैत १२ गते कृषिजन्य समाग्री, खाद्यान्न, तरकारी, कुखुरा, माछा लगायतका मासुजन्य उत्पादनमा ढुवानी तथा एवम् बिक्री बितरण नरोकिने बताए पनि किसानहरु मर्कामा परेका हुन् ।

रुपन्देही सियारी-५ का कुखुरा पालक किसान कृष्ण बस्नेत अहिले कुखुरालाई खुलाउन दाना नपाउदा चिन्तित छन् । बस्नेतकोमा कुखुरा ४८ दिनको पुगिसकेको छ । बजारमा बिक्रिको लागी पुग्नुपर्ने समयमा लकडाउनका कारण बजारमा पुग्न पनि सकेको छैन भने कुखुरालाई खुवाउन दाना पनि पाउन सकेका छैनन् बस्नेतले । बस्नेतका अनुसार दाना नपाए कुखुरा मर्ने स्थिती आउँछ आफू सहित छपिया क्षेत्रमा भएका करिव ६ हजार कुखुरा मर्नेछन् ।

प्रदेश नं ५ पशु सेवा निर्देशनालयका अनुसार रुपन्देहीमा हाल ६ सय ११ कुखुरा पालन गर्ने फार्म र २४ वटा ह्याचरी फार्म रहेका छन् । निर्देशनालयका प्रमुख तुल्सीराम भण्डारीका अनुसार निर्देशनालयले उपसमिति बनाएरै किसानलाई मार नपरोस् भनेर काम गरिरहेको जानकारी दिए । भण्डारीले कुखुराको मासुलाई कोल्ड स्टोरमा व्यवस्थापन गर्ने गरि काम भैरहेको बताए ।

यता रुपन्देहीकै सबैभन्दा ठुलो मध्यको कोल्डस्टोर सुपर क्वालिटी मिट प्रोसेसिङ इन्टस्ट्रिजका संचालक तथा मासु ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलका अनुसार कोल्ड स्टोरमा थप मासु राख्नको लागी क्षमता रहेको छैन । रुपन्देहीमा हाल १५ सय भन्दा बढि किसानले कुखुरा पालन गर्दै आएका छन् ।

जिल्लामा करिव ७ लाख कुखुरा बेच्नको लागि तयारी अवस्थामा छ । रुपन्देही जिल्लामा उत्पादन भएको कुखुरा अन्य जिल्लामा पनि बिक्रि बितरणको लागी जाने गरेको थियो । कुखुरालाई खुवाउने दाना उत्पादन गर्ने उद्योग मजदुर नभएको भन्दै बन्द भएको छ ।

किसानकाअनुसार अबको केही दिनमा कुखुरा जिउँदै जमिनमा गाड्नुको बिकल्प केही हुने छैन जसले गर्दा किसानको लगानीसमेत धरासायी भएको छ । लाखौँ, करोडौँ लगानी गरेका किसान डुब्नेस्थिति आएपछि सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने किसानको माग रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित