८ मंसिर २०८३, मंगलबार

भारतबाट चोरबाटो हुँदै रौतहट भित्रिन थालेपछि गाउँ छिरने बाटो बन्द

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपेन्द्र पटेल

रौतहट, १५ चैत । भारतका विभिन्न ठाउँबाट चोरबाटो हुँदै अधिकांश मानिस रौतहट भित्रिन थालेपछि स्थानीयवासीले आफ्नो गाउँ छिर्ने बाटो बन्द गर्न थालेको छ ।

कोरोना संक्रमण हुनबाट गाउँ जोगाउन युवाहरूले बाटो बन्द गर्न थालेका हुन् । सरकारले ११ गतेदेखि गरेको लकडाउनका कारण रौतहटको सबै नाकाहरू बन्द छन् ।

त्यसैले उनीहरू भारतबाट आउँदा चोरबाटो हुँदै आउने गरेका छन् । लामो समय भारत बसेर फर्केका मध्ये केहीलाई ज्वरो समेत आएको भन्दै स्थानीयवासीले खबर गरेपछि १२ जनालाई नियन्त्रणमा लिएर चन्द्रपुरस्थित क्वारेन्टाईनमा राखिएको छ ।

भारतबाट चोरबाटो हुँदै रौतहट आउनेको संख्या बढ्न थालेपछि स्थानीय युवाहरू गाउँ–गाउँको बाटोमा खाडल खनेर र बार लगाएर बाटोनै बन्द गर्न थालेका छन् ।

रौतहटको फतुवा विजयपुर, गुजरा, बृन्दावन, गढीमाई, माधन नारायण नगरक्षेत्रका युवा तथा गाँउलेहरुले बाटो बन्द गरेका छन् ।

बहिरबाट आउनेहरूबाट कोरोना सर्ने सम्भावित खतरालाई नियन्त्रण गर्न बाटो बन्द गरिएको उनीहरूले बताएका छन् ।

रौतहटका सिडिओ बासुदेव घिमिरेले बाहिरबाट आउनेले शुरुमै मेडिकल चेकअप र १६ दिन क्वारेन्टाईनमा बस्न अनिवार्य रहेको बताए ।