शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

लक डाउनलाई व्यवस्थित गर्ने एउटा डिएसपी

दैनिक नेपाल २०७६ चैत १४ गते ९:४७

इटहरी, १४ फागुन । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीले आम साधारणलाई सुझाव दिन्छन्, लक डाउन तपाईका लागि हो, सुरक्षित भएर घरभित्र बस्नुहोला ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वका आम मानिस नै आक्रान्त भएपछि सरकारले घोषणा गरेको लक डाउनको सुपरिवेक्षणको जिम्मा प्रशासनमार्फत प्रहरीले पाएको छ । डिएसपी भण्डारीको जिम्मामा पर्ने इटहरीलाई उनले व्यवस्थित पार्नका लागि उपलव्ध भएका स्रोत साधनको परिचालन गरी प्रहरी अधिकारीलाई निगरानीका लागि विहानैदेखि खटाउने गरेका छन् ।

अत्यावश्यक सेवावाहेक जनताको सुरक्षाका लागि नै गरिएको सरकारको घोषणा मान्नु नागरिकको कर्तव्य भए पनि कतिपयले यसलाई टेरेका छैनन् । त्यसैले प्रहरीको परिचालन प्रभावी बनाउनुपर्ने भएपछि भण्डारी पनि कस्सिएका छन् ।

‘अहिले इटहरीमा नागरिकलाई सम्झाउने, बुझाउने र आफ्नै स्वास्थ्यका लागि नै गरिएको यो अवस्थालाई बुझ्न आग्रह गरेका छौं’, भण्डारी भन्छन्, ‘यो आग्रहमा धेरै नागरिकले सहयोग गर्नुभएको छ, कतिपयलाई घरभित्र बस्नका लागि अनुरोध पनि गरिरहेका छौं ।’

लक डाउनको चौथो दिन पुग्दासम्म डिएसपी भण्डारीले प्रहरी अधिकारीलाई मोटरसाइकल, गाडी र उपलव्ध सुवारी साधनको उपयोग गरी विविध ठाउँमा रेकीमा पनि खटाएका छन् । प्रहरीका टोलीले टोलटोलमा पुगेर रेकी गर्दै नागरिकलाई घरभित्र बसिदिन आग्रह गर्छन् ।

‘केही चुनोति अवश्य छन् । इटहरीमा पनि शंकास्पद व्यक्ति रहेको भन्ने सूचना र समाचारमा आएका बेला हाम्रो पहिलो कर्तव्य यहाँका नगरवासीलाई सुरक्षित भएर बस्नका लागि गर्ने आग्रह नै हो’, उनी भन्छन् ।

हालसम्म उनले बल प्रयोग गनुृपनेृ अवस्था नआएको जानकारी दिए । कतिपय ठाउँमा प्रहरीले भनेको नमान्दा बल प्रयोग गरी घर घर छिराउनुपर्ने अवस्था आएका बेला इटहरीमा आइसकेको छैन । तर, भनेको नमान्ने र जनस्वास्थ्यको हिसाबमा हेलचेक्राँई गरे विविध उपाय अपनाउन प्रहरी पछि नपर्ने उनको कथन छ ।

‘अहिलेसम्म इटहरीका नागरिकहरुले लक डाउनको विषयलाई त्यति साह्रो हेलचेक्राँई गरेको पाइएको छैन । त्यसरी मनपरी गरेको पाइएका खण्डमा उपाय अपनाउनपर्ने पनि हुनसक्छ’, उनी भन्छन् ।

त्यसो त यो विषय मात्र नभई, यस्ता बेलामा हुन सक्ने सम्भावित आपराधिक गतिविधिलाइृ पनि प्रहरीले विविध हिसाबका अनेक कोणमा अध्ययन जारी राखेको छ । सकभर कुने पनि अप्रिय घटना नहोस् भन्ने हेक्का राखेरै व्यवस्थित काम गर्नका लागि भण्डारी सक्रिय रहेको भेटिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित