शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

क्‍वारेन्टाइनबाट धमाधम भाग्दै, घर फर्केको सूचना दिनेलाई नगद

दैनिक नेपाल २०७६ चैत १४ गते ९:४५

काठमाडौँ, १४ चैत । भारतबाट फर्किएपछि क्वारेन्टाइनमा राखिएकाहरू धमाधम भाग्न थालेका छन् । बसिरहेकाहरूले पनि घर जान दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

आफन्तलाई क्वारेन्टाइनमा राखेको भन्दै कतिपय ठाउँमा स्थानीय बासिन्दाले स्वास्थ्यकर्मीमाथि नै कुटपिटसमेत गरेका छन् ।

बैतडीको पाटन नगरपालिका–९ को विद्यालयमा राखिएका सात जना क्वारेन्टाइनबाट बुधबार एकैसाथ भागेका छन् । एक्लै भएको मौका छोपेर भागेका उनीहरूलाई सम्पर्कमा ल्याउन गाह्रो भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

सुर्नया गाउँपालिकाको एक विद्यालयमा राखिएका एक जना पनि बिहीबार बिहानै भागेका छन् । अन्य पालिकाले भने कसैलाई पनि क्वारेन्टाइनमा राखेका छैनन् ।

पुरचौडी नगरपालिका–५, कुवाकोटस्थित भूमिराज मावि काटै गहताडको क्वारेन्टाइनमा ड्युटी खटिएका स्वास्थ्य चौकीका अहेव करनसिंह धामी बुधबार राति कुटिएका छन् ।

क्वारेन्टाइनमा आफन्तलाई किन राखेको भन्दै स्थानीय नरेन्द्र जागरीले उनीमाथि कुटपिट गरेका हुन् । बुधबारै भारतबाट फर्केका सात जनालाई विद्यालयमा राखिएको थियो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित