शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

सबैका सबै समस्या एकैपटक स्वीच दवाएर पूरा हुँदैनः विष्णु रिमाल

दैनिक नेपाल २०७६ चैत १४ गते ८:२३

काठमाडौं, १४ चैत । प्रधामन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘लक डाउन’ जनताकै लागि भएको भन्दै यसको पालना पनि जनताले नै आफ्नो सुरक्षाको लागि गर्नुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकार जनताका सबै खाले समस्या पूरा गर्न तयार भएर बसेको बताए । तर, सबैका सबै समस्या एकै पटक स्वीच दवाएर समाधान गर्न नसकिने उनले बताए । समस्या समाधान विस्तारै पूरा हुँदै जाने सल्लाहकार रिमालले बताएका छन् ।

‘सबैका सबै समस्या एकैपटक स्वीच दवाएर पूरा हुँदैन’, उनले भने, ‘यो संक्रमणले एक व्यक्तिबाट ५९ हजारसम्मलाई सार्न सक्छ ।’

सल्लाहकार रिमालले सरकारले अहिलेको महामारीबाट देश र जनतालाई बचाउनका लागि पहिलो घेरामा बसेर काम गरिरहेकाहरूलाई प्राथमिकता दिएको बताए । उनले अहिले युद्धको घेरामा सबैभन्दा पहिले चिकित्सकहरू भएकाले सरकारको पहिलो प्राथमिकता उनीहरूको आवस्यकता पूरा गर्नु भएको बताए ।

रिमालले चिकित्सकको अवस्यकतालाई पहिलो प्राथमिकता नराख्ने हो भने यो कोरोना भाइरसको महामारीबाट कसैलाई पनि जोगाउन नसकिने बताए ।

‘अहिले धेरै रोगीहरू आएका भए पनि रोग धेरै आएको अवस्था छैन’, उनले भने, ‘सरकारले पनि चिकित्सकको सल्लाहमा नै पर्ख र हेरको अवस्थामा काम गरिरहेको छ ।’

उच्चस्तरिय समिति र कर्मचारीहरूको एक्सन व्युरो कमिटी पनि छ उनीहरू काम गरिरहेका छन् । समिति र एक्सन व्युरो कमिटीलाई हामी सवैले साथ दिएर अगाडि बढौँ । सवैभन्दा सचेत जनता नै हुनपर्छ । यो अवस्थामा सरकार मात्र सचेत भएर पुग्दैन’ ।

‘अहिले जुनजुन टिमले जे–जे काम गरिरहेका छन् त्यसलाई सबैले सहयोग गर्नुपर्छ’, सल्लाहकार रिमालले भने, ‘अहिले भएका सामाग्रीबाट चलाउँदै जानुपर्छ । केही दिनभित्र चिकित्सकीय सामान अभाव हुने छैन ।’

उनले अहिले नेपाल कुनैपनि सामान शून्य भएको अवस्थामा नरहेको बताए । अहिले सर्तकता अपनाउने र पछि आइलागेको अवस्थामा सरकारले तयारी गरिरहेको रिमालले बताए ।

‘यो महामारी हो । सबै नमिलेर रोक्न सकिदैन । राज्यसँग भएको पैसा जनतामा खर्च गर्ने हो’, उनले भने, ‘सरकारले सकेन भनेपनि जनता जनताले उठाएर पनि सहयोग गर्नुपर्छ ।’

‘माहामारी र भोकमरीबाट जोगाउनु अहिलेको मूल समस्या हो । यो विषयमा निर्णय गर्ने ठाउँमा बसेका मान्छेहरूले सोँचेका छन्’, उनले भने, ‘फ्रण्ट लाईनमा भएकाहरूलाई सरकारले सोँच्छ । अहिले एकजना कसैको विषय हैन, मुलुकको विषय हो ।’

प्रतिक्रिया
सम्बन्धित