बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोभिड–१९ : पोखरामा किटनाशक औषधी छर्किइयो

दैनिक नेपाल २०७६ चैत १३ गते १९:४१

सांकेतिक तस्वीर

पोखरा, १३ चैत । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न पोखरा महानगरले नगर क्षेत्रमा किटनाशक औषधी छर्कन शुरुआत गरेको छ ।

महानगरले बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने जनाएको छ ।

पोखरा–८, न्युरोडस्थित महानगरको कार्यालयबाट शुरु गरिएको औषधी छर्कने अयिभान आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले शुभारम्भ गर्नुभयो ।

कोरोना भाइरसको सङ्क्रमणलाई महानगर क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको र महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिने प्रमुख जिसीले बताउनुभयो ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग उहाँले आग्रह समेत गर्नुभएको छ ।

जारी लकडाउनको पूर्ण पालना गर्न र कुनै पनि बहानामा अवज्ञा नगर्न प्रमुख जिसीले नगरवासीसँग विशेष आग्रह गर्नुभएको छ ।

पहिलो चरणमा १०० लिटर उक्त किटनासक औषधी ल्याइ छर्ने काम शुरु गरिएको र आवश्यकता अनुसार खरीद गरी मुख्य/मुख्य स्थानमा किटनासक औषधी छरिने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताउनुभयो ।

महानगरले कोरोनाको सम्भावित सङ्क्रमण रोकथामका लागि दुई स्थानमा १५० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ ।

त्यसैगरि वैदेशिक रोजगारीबाट हालै फर्किएकाहरु ३३ वटै वडामा तथ्याङ्क सङ्कलन शुरु गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कोष स्थापना समेत गरेको छ । सो कोषमा कर्मचारीले सहयोगको घोषणा गरेका छन् ।

पोखरा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीमध्ये श्रेणी विहीन कर्मचारीबाट जनही रु एक हजार र अन्य शिक्षक, स्वास्थ्यकर्मी लगायत सबै कर्मचारीले कोषमा जनही रु दुई हजार सहयोगको घोषणा गरेको महानगर प्रमुखका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित